सहारा संवाददाता–––––––––––––––
वीरगंज, ०४ जेठ ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले समाजमा रहेका विकृति विसंगति हटाउन युवाहरुले राजनीतिमा सकृय सहभागिता जनाउनु पर्नेमा जोड दिनु भएको छ ।
रेडियो वीरगंज र टिभी वीरगंजले मुनलाईट मा.वि.मा आयोजना गरेको ‘नयाँ पुस्तासंग मेयर’ संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो बताउनु भएको हो ।
उहाले वीरगंजलाई नयाँ पुस्ताले चाहेको जस्तै शहर बनाउने बाटोमा आफूहरु अग्रसर रहेको बताउदै महानगरले अहिलेसम्म गरेका कामहरुको मुल्यांकन गर्दै आवश्यक सुझावसहित त्रुटीहरु औल्याइदिन पनि आग्रह गर्नुभयो ।
मेयर सिंहले वीरगंजको मितेरी पुलदेखि परवानीपुरसम्म घुम्ने र रमाउने खालका स्थानहरु निर्माणको अन्तिम तयारीमा महानगर जुटेको बताउदै मुख्य सडक मात्रै नभएर गल्ली र अन्य स्थानका सबै सडकहरुलाई सुन्दर बनाउने योजना रहेको बताउनु भयो ।
सो अवसरमा मेयर सिंहले महानगर अन्तर्गतका चार वटा सामुदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागु गरिएको बताउदै नयाँ शैक्षिक सत्रदेखि शिक्षा क्षेत्रको सुदृढीकरणमा लागी परेको बताउनु भयो ।
निजी विद्यालयको महंगो शुल्क तिर्नु भन्दा सरकारी विद्यालयमा अंग्रेजी माध्यमबाट महानगरले निःशुल्क पठन पाठनको व्यवस्था मिलाएको हुंदा बालबालिकालाई सरकारी विद्यालयमा पढाउन आग्रह समेत गर्नु भयो ।
मेयर सिंहले राम्रो उद्देश्यले कतिपय काम गर्दा मुद्दा मामिलामा अल्झिनु परेको गुनासो गर्दै नगवा पोखरीको सौन्दर्यकरणको काम प्रदेश सरकारले शुरु गरी अलपत्र छाडेकोमा गुनासो गर्नु भयो ।
उहाले प्रदेश सरकार र केन्द्र सरकारले अधिकांश काम वीरगंजमा अधुरै छाड्दा यसको अपजस महानगरले खेप्नु परेको भन्दै नगरवासीलाई महानगरको बाध्यता बुझि दिन आग्रह समेत गर्नु भयो ।
मुनलाईट माविका प्राचार्य श्याम केसीको अध्यक्षतामा आयोजित ‘नयाँ पुस्तासंग मेयर’ संवाद कार्यक्रमको सहजिकरण रेडियो वीरगंज एवं टिभी वीरगंजका कार्यकारी अध्यक्ष ध्रुव साहले गर्नु भएको थियो ।
Facebook Comments Box