सहारा दैनिक

spot_img
Homeदेशमधेशदुई दिने रात्री बजार सफलतापुर्वक सम्पन्न

दुई दिने रात्री बजार सफलतापुर्वक सम्पन्न

सहारा संवाददाता–––––––––––––––
वीरगंज, ३१ बैशाख ।
वीरगंजको अर्थतन्त्र चलायमान बनाउन महानगरले आयोजना गरेको दुई दिने रात्रि बजार सफलतापूर्वक सम्पन्न भएको छ ।
हरेक महिनाको अन्तिम शुक्रबार र शनिबार रात्रि बजार लगाउने योजना अनुरुप दोस्रो पटक लागेको बजार सफलतापूर्वक सम्पन्न भएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले बताउनुभयो ।
नयाँ वर्षको अवसर पारेर सुरु गरिएको बजार उत्साहपूर्ण देखिएपछि महानगरले हरेक महिना रात्रि बजार संचालन गर्ने प्रयत्न गरेको हो ।
सामान्य अवस्थामा पनि यहांको बजार अबेरसम्म लगाउने प्रयत्न स्वरुप रात्रि बजारको अवधारणालाई अघि बढाइएको उहाले बताउनुभयो ।
नयाँ वर्षका बेला आदर्शनगर चोकबाट कैलास चोक हुंदै पुरानो बसपार्कसम्म लागेको रात्रि बजार यस पटक भने माइस्थान चोकबाट आदर्शनगर चोक हुंदै भाजुरत्न चोकसम्म लागेको थियो ।
शुक्रबार र शनिबार लगाइएको रात्रिबजारमा वीरगंज सहित बारा, पर्सा, रौतहटका अलावा बागमती प्रदेशको हेटौंडा, नारायणगढ तथा छिमेकी भारतीय सहरबाट पनि बजार गर्न आउनेको भिड रहेको थियो ।
दोस्रो पटक लगाइएको रात्रि बजार पनि उत्साहवद्धक रह्यो, हामीले सोचेजस्तै सफलता पाइरहेका छौं, महानगरका मेयर राजेशमान सिंहले भन्नुभयो, जनसहभागिता बढ्दो छ यसले शिथिल अर्थतन्त्रलाई उठाउन महत्वपूर्ण योगदान दिने विश्वास लिएको छु ।
रात्रि बजारमा स्थानीय उत्पादन, खानाका परिकार, उपभोग्य बजारका अलावा भारतको बंगालबाट मसाज, मेहन्दी लगाउने डोली आएर सेवा दिएको थियो ।
यस्तै सडकमै फुट मसाजको सुविधा पनि उपलब्ध गराइएको थियो ।
वीरगंजमा रात्रि बजार सफलतापूर्वक सम्पन्न भएसंगै देशका विभिन्न स्थानीय तहले पनि आफ्नो ठाउमा रात्रि बजार लगाउने जमर्को गरेका छन् ।
यसै विच चितवन जिल्ला सदरमुकाम भरतपुर महानगरपालिकाले पनि जेठ महिनाभित्रैबाट रात्रि बजार लगाउने तयारी थालेको छ ।
रात्रि बजार तयारी स्वरुप भरतपुर महानगरको टोलीले शुक्रबार र शनिबार वीरगंजको रात्रि बजारको अवलोकन गरेका छन ।
भरतपुर महानगरपालिका र चितवन उद्योग वाणिज्य संघको संयुक्त टोलीले वीरगंजको रात्रि बजार अवलोकन गरेको हो ।
भरतपुर रात्रि बजार संञ्चालन समितिका संयोजक समेत रहेका प्रगतिपथ टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र श्रेष्ठले जेठ १५ गते रात्रिबजार लगाउने गरी आफूहरुले पनि तयारी अघि बढाएको बताउनुभयो ।
वीरगंज महानगरले गरेको सुरुवात सह्रानीय रहेको भन्दै उहाले अर्थ व्यवस्था चलायमान बनाउन आफूहरुले पनि भरतपुरमा तयारी अघि बढाएको बताउनु भयो ।
वीरगंजको रात्रि बजार अवलोकन गर्न भरतपुरबाट महानगरका पदाधिकारी, उद्योग वाणिज्य संघका पदाधिकारी सहित सरोकारवालाहरुको टोली आएका थिए ।
यस्तै मधेस प्रदेशको जनकपुरधाममा पनि रात्रि बजार लगाउन व्यवसायीले माग गरेका छन् । व्यवसायीले स्थानीय तह तथा प्रशासनलाई ज्ञापन पत्र बुझाउदै रात्रि बजारको व्यवस्था गर्न माग गरेको हो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -