वीरगंज, २१ बैशाख ।
वीरगंज महानगरपालिकालाई चार विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पठन–पाठन गराउने बाटो खुलेको छ ।
उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगंजले सर्वसाधारणका छोराछोरीले समेत निशुल्क अंग्रेजी माध्यममा पठन–पाठन गर्न पाउने मनसायले महानगरले चार विद्यालयमा अंग्रेजी माध्यम सुरु गरेको देखिएको भन्दै यस अघि गरेको अल्पकालिन आदेश खारेज गरेसंगै पठन–पाठन गराउने बाटो खुलेको हो ।
पूर्ण रुपमा अंग्रेजी माध्यमको पठन–पाठन गराउने महानगरको निर्देशनबिरुद्ध अभिनय गुप्ताले वीरगंज महानगरसहितलाई बिपक्षी बनाएर उच्च अदालतमा उत्प्रेरण परमादेशको माग गर्दै दायर गरेको रिटमा अदालतले बैशाख १४ गते अघि बढाएको योजना तत्कालका लागी यथास्थितिमा राख्न अल्पकालिन आदेश दिंदै बिहीबारका लागी छलफलमा बोलाएको थियो ।
बिहीबार दुबै पक्षको बहस पछि अदालतले अल्पकालिन अन्तरिम आदेश निरन्तरता दिइ रहनु पर्ने नदेखिएको भन्दै नियमानुसार गर्न आदेश दिएको हो ।
बिहीबार उक्त रिटमाथि सुनुवाई गर्दै अदालतका न्यायाधीश लेखनाथ पौडेल र सुदर्शनदेव भट्टको संयुक्त इजलासले यस्तो आदेश दिएको हो ।
महानगरको तर्फबाट अधिक्ता कमलमोहन पोखरेल, प्रमोद प्रसाद र कानुन अधिकृत ईशवर बरालले बहस गरेका थिए भने निवेदकको तर्फबाट अधिवक्ता सुधिर कुमार कर्णले बहस गरेका थिए ।
वीरगंज महानगरपालिकाले यसै शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापीठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु गरेको छ ।
Facebook Comments Box