spot_img
Homeदेशमधेशवीरगंजबाट उठ्ने राजस्वको निस्चित प्रतिशत दिनु पर्ने माग

वीरगंजबाट उठ्ने राजस्वको निस्चित प्रतिशत दिनु पर्ने माग

वीरगंज, ०८ बैशाख ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले वीरगंज भन्सारबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगंज महानगरपालिकालाई उपलब्ध गराउन माग गर्नु भएको छ ।
शुक्रबार अर्थमन्त्रालयमा आयोजित अन्तर सरकारी वित्तीय हस्तान्तरणका लागी परामर्श तथा समन्वय कार्यक्रममा मेयर सिंहले अर्थमन्त्री प्रकाश शरण महतसंग वीरगंज नाकाबाट उठ्ने भन्सार राजश्वको निश्चित प्रतिशत रकम वीरगंज महानगरलाई उपलब्ध गराउन आग्रह गर्नुभएको हो ।
अर्थमन्त्री महतलाई वीरगंज महानगरका बारे जानकारी गराउदैै मेयर सिंहले देशको कूल राजश्व संकलनमा वीरगंजको योगदान आधाभन्दा बढी भए पनि केन्द्र सरकारबाट वीरगंज संधै उपेक्षामा पर्दै आएको गुनासो गर्नुभयो ।
उहाले कूल आयात÷निर्यातको ७० प्रतिशत कारोबार वीरगंज नाकाबाटै हुन्छ, कूल अर्थतन्त्रमा वीरगंजको योगदान आधा भन्दा बढी छ तर वीरगंज र वीरगंजवासीले सवारीसाधानको धुंवाधुलो र प्रदुषण मात्रै पाइरहेका छन्, मालवाहक सवारीको चापले सडकहरु भत्किने गरेका छन्, तर राज्यबाट पाउने लाभ शुन्य जस्तैछ भन्नु भयो ।
मेयर सिंहले वीरगंज भन्सार कार्यालयले मात्रै वार्षिक साढे दुई खर्ब भन्दा बढी राजश्व उठाएर सरकारलाई दिदै आएको भन्दै साढे दुइ खर्ब उठाएर दिने वीरगंज महानगरले केन्द्र सरकारबाट वर्षमा कति बजेट पाउछ ? भन्न पनि मलाई अप्ठ्यारो लागिरहेको छ ।
वीरगंज नाकाबाट संकलन हुने राजश्व अन्य पालिका सरह बांडफांड हुने अवस्थाले वीरगंजलाई घाटा मात्रै भएको बताउदै मेयर सिंहले प्रभावित क्षेत्रको आधारमा वीरगंज भन्सार लगायतका कार्यालयबाट संकलीत राजश्वको निश्चित प्रतिशत रकम वीरगंज महानगरले पाउनुपर्ने व्यवस्था गर्न अर्थमन्त्री महत समक्ष मेयर सिंहले आग्रह गर्नु भयो ।
वीरगंजलाई देशकै आर्थिक राजधानी भनिदै आएको भए पनि त्यस अनुसारको पूर्वाधार र सेवा सुविधा राज्यबाट नपाएकाले वास्तविक रुपमै आर्थिक राजधानी बन्ने गरी वीरगंजको पुर्वाधार विकासमा जोड दिन पनि उहाले अनुरोध गर्नुभयो ।
त्यसै गरी मेयर सिंहले संस्थागत घरवहाल कर आन्तरीक राजश्व कार्यालयले उठाउने काम बन्द गर्नुपर्ने, मालपोत रजिष्ट्रेशन शुल्क मासिक रुपमा दाखिला गर्ने व्यवस्था मिलाउनुपर्ने, आन्तरिक आय ठेक्का व्यवस्थापनका लागि नमुना कानुन निर्माण गर्नुपर्ने माग पनि राख्नुभयो ।
वीरगंज महानगरमा शिक्षक अभाव हुंदा पठन पाठनमा समस्या भइरहेको भन्दै शिक्षा मन्त्रालयले नै दिएको प्रतिवेदन अनुरुपको शिक्षक नियुक्तिको व्यवस्था मिलाउन पनि उहाले आग्रह गर्नुभयो ।
शिक्षा मन्त्रालयले वीरगंजको लागि ३ सय शिक्षक थप आवश्यक रहेको प्रतिवेदन यस अघि नै दिइसकेको छ । ३ सय शिक्षक नियुक्तीको लागि बजेट व्यवस्थापन गर्न माग गर्दै उहाले शिक्षक अभावका कारण शैक्षिक गुणस्तर वृद्धिमा असर पुगिरहेको बताउनुभयो । सो अवसरमा मेयर सिंहले वीरगंजको आर्थिक अवस्था चलायमान बनाउन देशकै मुख्य नाकाको रुपमा रहेको सीमा नाकालाई २४ सै घण्टा खुला राख्ने व्यवस्था मिलाउन आग्रह पनि गर्नु भयो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -