राधेश्याम साह–––––––––––––––
गौर, २९ चैत्र ।
रौतहट जिल्ला गरुडा नगरपालिकामा भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शनमा उत्रिएका स्थानीय र प्रहरी विच झडप भएको छ ।
प्रहरी र स्थानीय विच भएको झडपका क्रममा प्रहरीको गोली लागेर एक जना घाइते भएका छन ।
गरुडा नपामा व्यापक भ्रष्टाचार भएको भन्दै स्थानीय अगुवा दिपक यादवको नेतृत्वमा भएको विरोध प्रदर्शनका क्रममा प्रदर्शनकारीहरुले ढु·ामुढा गर्न थाले पछि स्थितीलाई नियन्त्रण गर्न प्रहरीले ११ राउण्ड हवाइ फायर गर्दै गोली चलाउदा एक जना स्थानीय घाइते भएका छन ।
प्रहरीको गोली लागेर गरुडा नगरपालिका वडा नं. ५ लक्ष्मिपुरका २२ बर्षिय युवक गजेन्द्र यादव घाइते भएका हुन । प्रहरीले चलाएको गोली यादवको पाखुरामा लागेको स्थानीयले जनाएका छन ।
घाईते यादवको पाखुराबाट गोली वारपार भएपछि स्थानीय अस्पतालमा प्रथमिक उपचार पश्चात वीरगंज स्थित नारायणी अस्पतालमा पठाइएको स्थानीयले जनाएको छ ।
गरुडा नगरपालिकामा व्यापक भ्रष्टाचार भएको भन्दै पछिल्लो केहि समयमा आन्दोलन गर्दै आएका दिपक यादव नेतृत्वमा स्थानीयहरुले बुधवार नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न पुगेका थिए ।
नगरपालिकामा तालाबन्दी गर्न पुगेका स्थानीय प्रदर्शनकारीहरुले ढुंगामुढा गरेर टिपर, मोटरसाइकल तथा कार्यालयको झ्याल ढोकामा क्षति गर्न थाले पछि इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक विरेन्द्र पासवानको कमाण्डमा खटिएका सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्दा झडप भएको प्रत्यक्षदर्शीहरुले बताएका छन ।
स्थिती अनियन्त्रीत हुन थाले पछि प्रहरीले चार राउण्ड टियर ग्यास प्रहार गरेपनि प्रदर्शनकारीहरु पछि हट्नुको साटो झन उग्र भई ढुंगामुढा गर्दा प्रहरी निरीक्षक पासवान घाईते भएको पछि बाध्यताबस प्रहरीले ११ राउण्ड गोली फायर गरेर स्थितिलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी विरबहादुर बुढा मगरले जानकारी दिनु भयो ।
प्रदर्शनकारीको ढुंगामुढाबाट नगरपालिका वरिपरी रहेका सवारी साधनहरुमा समेत क्षति भएको छ भने प्रहरी निरीक्षक सहित चार जना प्रहरी घाइते भएको एसपी मगरले जानकारी दिनु भयो ।
घाईते युवकको अवस्था भने सामान्य रहेको छ ।
यता प्रहरीले ति युवक गोली लागेर नै घाइते भएको भन्ने पुष्टि गरेको छैन । ढुंगा लागेर पनि घाइते भएको हुन सक्ने आशंका गर्दै एसपी मगरले वीरगंज पुगेपछि यथार्थ कुरा आउने बताउनु भयो ।
प्रहरीले प्रदर्शनकारी दिपक यादव सहित चार जनालाई पक्राउ समेत गरेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
एसपी मगरका अनुसार नगरपालिकाको मेयरले अनियमितता गरेको छ भने बसेर छलफल वा न्यायायिक ढंगबाट अघि बढ्नुपर्नेमा सरकारी सम्पत्तीलाई नोक्सानी पु¥याउने अधिकार कसैलाई नभएको बताउनु भयो ।
सरकारी सम्पत्तीको सुरक्षार्थ प्रहरीले बल प्रयोग गरेर अवस्थालाई नियन्त्रणमा लिएको बताउदै अहिले गरुडा क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको उहाले बताउनु भयो ।
Facebook Comments Box