सहारा दैनिक

spot_img
Homeदेशमधेशसामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र भइरहेको छ–मेयर सिंह

सामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र भइरहेको छ–मेयर सिंह

वीरगंज, २८ चैत्र ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पछिल्ला केही समय यता वीरगंजको सामाजिक सद्भाव धमिलो पार्ने षड्यन्त्र भइरहेको भन्दै चिन्ता व्यक्त गर्नु भएको छ ।
आशा किरण केन्द्रद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले धर्मको नाममा केही व्यक्तिले वर्षौं देखिको धार्मिक सहिष्णुता तथा यहांको सामाजिक सद्भाव खल्बलिने गतिविधि गरेको भन्दै चिन्ता व्यक्त गर्नु भएको हो ।
मेयर सिंहले वीरगंज सबै जातजाति, भाषा, धर्मको साझा फुलबारी रहेकाले यो सद्भाव विगार्न नहुने बताउनुभयो ।
हिन्दुले मुस्लिमलाई, मुस्लिमले हिन्दुलाई गर्ने सम्मान र सद्भाव केही उच्छृंखल व्यक्तिका कारण धरासायी हुन नहुने भन्दै सबै संयमित भएर काम गर्नु पर्ने बताउनु भयो ।
आफ्नो धर्म संस्कृतिको रक्षा आफैले गर्नु पर्ने भन्दै उहाले एउटा धर्म मान्नेले आफ्नो स्वार्थका लागि अर्को धर्म समुदायलाई हानी हुने काम गर्न नहुने सुझाव दिनु भयो ।
मेयर सिंहले वर्षमा एक पटक झण्डा, तरबार बोकेर सडकमा निस्कदैमा धर्मको रक्षा हुन नसक्ने भन्दै समाजमा रहेका कुरिति, गरिबि हटाउन सहयोगीभावमा समर्पण हुनु पर्नेमा जोड दिनुभयो ।
हामीसंग भएका मन्दिरको संरक्षण छैन । भएका मन्दिरमा पुजारी छैन । पुजा गर्ने सामग्री छैन भन्दै उहाले वर्षमा एक दिन झण्डा र तरबार बोकेर प्रदर्शन गर्दैमा धर्म रक्षा हुन सक्दैन ।
भएका मन्दिरको संरक्षण गर्दै त्यहाँ पुजापाठ गर्ने व्यवस्था मिलाउने तर्फ ध्यान दिंदै सबैलाई जुटाउनेतर्फ काम भए मात्रै धर्म र धार्मीक सहिष्णुता कायम हुने बताउनुभयो ।
मेयर सिंहले भएका मन्दिरको संरक्षण गर्नु जरुरी छ, त्यसलाई सौन्दर्यकरण गर्नु छ । पुजारी र पुजा गर्ने सामानको व्यवस्थापन गर्नु पर्ने छ । यता तर्फ कसले ध्यान दिने ? प्रश्न गर्नुभयो ।
मुस्लिम समूदायका केही व्यक्ति पनि हिन्दु धर्मका बारेमा अनर्गल प्रचार गर्ने र सद्भाव खल्बल्याउने गरी वक्तव्य दिएको भेटिएकाले त्यस्ता कार्य तत्काल रोकेर वर्षौ देखि कायम धार्मिक सहिष्णुता र सामाजिक सद्भाव अझै मजबुत बनाउने तर्फ ध्यान दिनु पर्ने बताउनु भयो ।
सो अवसरमा मेयर सिंहले आशा किरण केन्द्रमा रहेका मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिकालाई बीरगंज महानगरले सहयोग गर्ने बताउनु भयो ।
मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिकालाई को शिक्षा तथा उपचारको लागि बीरगंज महानगर पालिकाले हरेक प्रकारको सहयोग गर्ने मेयर सिंहले बताउनु भएको छ ।
उहाले मस्तिष्क पक्षघात तथा सुस्त मनस्थिति बालबालिकालाई केन्द्रमा राखी दिनभर हेरचाह र विभिन्न प्रकारले शिक्षा र सिकाउने कार्य गर्ने आशा किरण को कर्मचारी र सहयोगी संस्थाहरुले उच्च मानवीय कार्य गर्नु भएकोमा प्रशंसा गर्नु भयो ।
सुनिल गुप्ता अध्यक्षता आयोजित कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, भारतीय महावाणिज्यदूतावास बीरगंजका महावाणिज्यदूत नितेश कुमार र उद्योगी अशोक वैद्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा मस्तिष्कघात तथा सुस्त मनस्थितीका बालबालिकाहरुले विभिन्न प्रस्तुतिहरु गरेका थिए ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -