वीरगंज, २७ चैत्र ।
वीरगंज महानगरपालिकाको मुख्य आयोजनामा हुन लागेको रात्रि बजारको तयारी अन्तिम चरणमा पुगेको छ ।
नयाँ वर्षको अवसरमा चैत ३० गते देखि बैशाख २ गतेसम्म आयोजना गर्न लागिएको रात्रि बजारको आवश्यक सजावटदेखि स्टल बुकिङको काम अन्तिम चरणमा पुगेको हो ।
सोमवार वीरगंज महानगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमा मेयर राजेशमान सिंहले तयारी बारे जानकारी दिंदै रात्रि बजारले वीरगंजको अर्थतन्त्र चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाले रात्रि बजार अवधिभर नेपाल–भारत मुख्य सीमा चौबिसै घण्टा खुल्ने व्यवस्था मिलाइएकाले सीमापारका पर्यटकको आगमन बढ्ने र बजार चलायमान हुने बताउनु भयो ।
यहाका उद्योगी, व्यवसायीसंगको सहकार्यमा उनीहरुकै व्यवस्थापनमा हुन लागेको रात्रि बजारको महानगरपालिकाले ७५ प्रतिशत आर्थिक लगानी गर्ने उहाले बताउनुभयो ।
यहाका निजी क्षेत्रको २५ प्रतिशत र महानगरको ७५ प्रतिशत लगानीमा बजार लगाउन लागेका हौ भन्दै मेयर सिंहले यसले यहाका व्यवसायी तथा आम नगरवासिले रात्रि बजारबाट लाभ लिन सक्ने विश्वास लिएको समेत बताउनु भयो ।
रात्रि बजार नाफा कमाउन नभई यहाको आर्थीक अवस्था चलायमान बनाउन आयोजना गर्न लागिएकाले तीन दिनको स्टलको शुल्क रु. १ हजार मात्रै लिइएको बजार व्यवस्थापन समितिका संयोजक जयप्रकाश खेतानले बताउनुभयो । आदर्शनगर चोकदेखि कैलास चोक हुंदै पुरानो बसपार्क, चिल्ड्रेनपार्कसम्म लाग्ने रात्रीबजारमा १०० भन्दा बढी थरिथरिका स्टलहरु रहने उहाले जानकारी दिनु भयो । शिक्षा, स्वास्थ्य सम्बन्धि जानकारी मुलक स्टलका साथै विभिन्न खानाका परिकार, लत्ता कपडा, जुत्ताचप्पल तथा अन्य विविध किसिमका स्टलहरु रहने छन् । रात्रि बजारमा झाँकी तथा विभिन्न सांस्कृतिक प्रस्तुती समेत रहने जनाइएको छ ।रात्रि बजार सुरक्षित रुपमा लगाउन स्थानीय प्रशासनसंगको सहकार्यमा आवश्यक व्यवस्था मिलाइएको भन्दै ढुक्क भएर रात्रि बजारको लाभ उठाउन मेयर सिंहले आग्रह गर्नुभयो । पत्रकार सम्मेलनमा महानगरका उपमेयर इम्तियाज आलम, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, आमसन्चार प्रबर्धन समितिका संयोजक ध्रुब अधिकारी, संजय अग्रवाल लगायतको सहभागिता रहेको थियो । पत्रकार सम्मेलनको सहजिकरण महानगर प्रमुखका प्रेस सल्लाहकार महेस दासले गर्नु भएको थियो ।
Facebook Comments Box