वीरगंज, २६ चैत्र ।
पर्सा प्रहरीले ठुलो परिमाणमा लागु औषध सहित ४ जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय श्रीपुर वीरगंज र इलाका प्रहरी कार्यालय ठोडीबाट खटिएको छुट्टा–छुट्टै टोलीले ठुलो परिमाणमा लागु औषध गाँजा र चरेस सहित ४ जनालाई पक्राउ गरेको हो ।
गोप्य सुचनाको आधारमा जिप्रका पर्सा र वप्रका श्रीपुरबाट खटिएको संयुक्त टोलीले आइतवार पर्सा जिल्ला पटेर्वासुगौली गाउपालिका वडा नं.५ देउरीया स्थित प्रदेशी राउतको घर तथा टहरा समेतमा खानतलासी गर्दा लुकाइ छिपाइ राखिएको प्रतिबन्धित लागु औषध चरेश ११८ किलो र गाँजा ४ किलो फेला परेको जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले जानकारी दिनु भयो ।
खानतलासीको क्रममा लागु औषध सहित ओसारपसार तथा किन बेचमा संलग्न पटेर्वासुगौली गा.पा. वडा नं. ५ बस्ने घरधनी ६० वर्षीय प्रदेशी राउत, मकवानपुर जिल्ला रक्सीराङ गा.पा. वडा नं. ८ बस्ने ३८ वर्षीय रमेश मोक्तान र मनहरी गा.पा. वडा नं. ६ बस्ने २५ वर्षीय रोशन मोक्तानलाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
त्यसै गरी इलाका प्रहरी कार्यालय ठोडीबाट खटिएको टोलीले शुक्रवार लागु औषध गा“जा सहित एक जनालाई पक्राउ गरिएको जिप्रकाले जनाएको छ ।
विशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय ठोरीबाट प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठको कमाण्डमा खटिएको प्रहरी टोलीले ठोरी गापा वडा नं.२ स्थित हनुमाननगर तर्फबाट ढेडु खोलाको बाटो हुंदै संकाष्पद रुपमा सेतो बोरा बोकेर आउदै गरेका चितवन जिल्ला लोथर न.पा. वडा नं. ९ बस्ने वर्ष ५७ को राम बहादुर तामाङलाई नियन्त्रणमा लिई बोराको तलासी लिदा लागु औषध गांजा फेला परेको जिप्रकाले जनाएको हो ।
तामाङले बोकेको सेतो रङको बोरा भित्र रातो र पहेलो प्लाष्टिकले बेरेर कालो प्लाष्टिकको डोरीले बाधिएको अवस्थामा लागु औषध गांजा ६१ किलो फेला परेको प्रनाउ गिरीले जानकारी दिनु भयो ।
लागु औषध सहित पक्राउ परेकाहरु विरुद्ध लागु औषध सम्बन्धी कसुरमा थप गरी अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box