वीरगंज, २६ चैत्र ।
वीरगंज महानगरपालिकाले ३० युनिटसम्म बिजुली खपत गर्ने प्रयोगकर्ताको महशुल भुक्तानी गर्ने घोषणा गरे अनुरुप ९ हजार भन्दा बढी परिवार लाभान्वित भएका छन् ।
गत माघ महिनाबाट महानगरभित्र बसोबास गर्ने विपन्न वर्गलाई सहुलियत दिन घरेलु मिटर प्रयोगकर्ताको ३० युनिटसम्मको विद्युत महशुल महानगरबाटै भुक्तानी हुन थालेपछि उनीहरु लाभान्वित भएका हुन् ।
माघ महिनामा ३ हजार ७ सय ६२ परिवारले ३० युनिटसम्मको विद्युत महशुल भुक्तानीको लाभ लिएका छन् । फागुनमा भने त्यो संख्या बढेर ५ हजार ३ सय ११ घरपरिवारले यस्तो लाभ लिएको विद्युत प्राधिकरणले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
प्राधिकरण वीरगंज वितरण केन्द्र र सिमरा वितरण केन्द्रबाट ग्राहस्थ (घरेलु) मिटरमा ५ र १५ एम्पीआरको एमसीबी प्रयोग गरी अधिकतम ३० युनिट खपत गर्ने ग्राहकको भुक्तानी महानगरले तिरिदिएको हो ।
कृषि (सिंचाइ)मा लाग्ने विद्युतको सम्पूर्ण शुल्क भुक्तानीको दायित्व पनि महानगरले नै लिएको छ । अहिलेसम्म ६४ कृषि मिटरको ३५ हजार २७० रुपैया भुक्तानी पनि महानगरले चुक्ता गरिएको बताइएको छ ।
माघ महिनामा २५ वटा कृषि मिटरको शुल्क भुक्तानी भएकोमा फागुनमा ३९ वटा पुगेको छ । सिमरा वितरण केन्द्रबाट १ वटा कृषि मिटर प्रयोगकर्ताले लाभ लिएका छन् । कृषकहरूको उत्पादन क्षमता वृद्धि गर्दै उनीहरूलाई प्रोत्साहन गर्न कृषि मिटरमा लाग्दै आएको शुल्क पूर्ण रुपमा महानगरले नै तिरिदिएको हो ।
चुनावका बेला मेयर सिंहले गरिएको प्रतिबद्धता बमोजिम नै निर्वाचित भएर पदभार ग्रहण गरेकै दिन महानगरका वासिन्दाले प्रयोग गर्ने विद्युतको न्यूनतम शुल्क व्यहोर्ने निर्णय गराउनु भएको थियो ।
लाभग्राही पहिचान र तथ्यांक संकलन गर्न समय लागेकाले आर्थिक वर्षको सुरुवात बाटै लागु गर्ने भनिएकोमा केही ढिला हुन पुगेको मेयर सिंहले बताउनुभयो ।
महानगरले गत पुष ७ गते प्राधिकरणको वीरगंज र सिमरा वितरण केन्द्रसंग न्यूनतम ३० युनिट विद्युत शुल्क मिनाहा गर्ने सम्झौता गरेको थियो ।
त्यही सम्झौता बमोजिम अहिले ३० युनिटसम्मको शुल्क मिनाहा हुनुका साथै कृषि मिटरमा लाग्दै आएको शुल्क पनि पूर्ण रुपमा मिनाहा भएको हो ।
माघ महिनामा भन्दा फागुनमा बढी प्रयोगकर्ता देखिएका छन् । सम्झौता अनुसार पुरानो बक्यौता बुझाएकाले मात्रै यो मिनाहामा सहभागी हुन पाउने छन् । त्यसैले मिनाहाको लाभ लिन पनि बक्यौता बुझाउनेको संख्या बृद्धि हुंदा मिनाहा हुने मिटरको संख्या बढेको वीरगंज वितरण केन्द्रका लेखापाल राजेश झाले बताउनु भयो ।
Facebook Comments Box