वीरगंज, २४ चैत्र ।
मुक्त हरवाचरवाको न्यायिक पुनरस्थापना हाम्रो सरोकार, भूमि, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार” भन्ने नाराकासाथ हुन लागेको वीरगंजबाट जनकपुर सम्मको हरवाचरवा अधिकार यात्राको तयारी पुरा भएको छ ।
राष्ट्रिय हरवाचरवा अधिकार मंचले शुक्रबार वीरगंजमा पत्रकार सम्मेलनको आयोजना गरी शनिबार देखि सुरु हुने हरवाचरवा अधिकार यात्राको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
नेपाली समाजमा विद्यमान दासप्रथाको एक मात्र अवशेषका रुपमा रहेको हरवाचरवा प्रथा मुक्ति घोषणा भएको ९ महिना वितिसक्दा समेत पुनरस्थापना गर्न कुनै काम नभएको र स्वयं मुक्त हरवाचरवालाई मुक्तिको सन्देश मार्फत पुनरस्थापनाको लागि सम्बन्धित सरोकार वालाहरुको ध्यानाकर्षणका लागि यात्राको आयोजना गरिएको राष्ट्रिय हरवाचरवा अधिकार मंचका उपाध्यक्ष श्रीप्रसाद सादाले वताउनु भयो । वीरगंज स्थित जिल्ला प्रहरी कार्यालय अगाडी रहेको लालबंगलाबाट शनिबार विहान ९ बजे निस्कने अधिकार यात्राको उद्घाटन वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले गर्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा आरडिएनका मिडिया फोकल पर्सन बृजलाल पासवाले जानकारी दिनु भयो । शनिबार विहान वीरगंजबाट निस्कने यात्रा बहुदरमाई नगरपालिकामा १०ः३० बजे पुगेर कोणसभामा परिणत हुने छ । त्यस पछि अधिकार यात्रा शनिबार दिउसो १ बजे बारा जिल्ला स्थित जितपुरमा पुगेर कोणसभा गर्ने र त्यही खाना खाएर कलैया पुगेर शनिबार राति बास बस्ने कार्यक्रम रहेको पत्रकार सम्मेलनमा जनाइएको छ । त्यसपछि आइतबार विहान पुनः कलैयाबाट निस्कने यात्रा बारा कै करैयामाई, कोल्भी हुंदै बलचनपुर पुग्ने छ । त्यहाबाट निस्कने यात्रा गरुडा, गौर, मलंगवा, ब्रहमपुरी, जलेश्वर हुंदै चैत २८ गते दिउसो २ बजे जनकपुरमा पुगेर समापन हुने जनाइएको छ । वीरगंज स्थित राणीसती धर्मशालामा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय दलित नेटवर्कका कोषाध्यक्ष जंगबहादुर सुनार, कार्यकारी निर्देशक हुकुम सार्की, जनवकालत अधिकृत रुपनारायण पासवान, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का लगायतको उपस्थिती रहेको थियो ।
Facebook Comments Box