वीरगंज, २२ चैत्र ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई–मधेशमा विकासको लहर ल्याउनुमा सबैभन्दा ठूलो योगदान एमालेको रहेको बताउनु भएको छ ।
अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघले वीरगंजमा बुधवार आयोजना गरेको प्रथम महाधिवेशनको उदघाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले तराई–मधेशमा भएका ठूलो विकास निर्माणका काममध्ये अधिकतम एमाले नेतृत्व सरकारको पालामा भएको दावी गर्नु भयो ।
उहाले एमाले नेतृत्व सरकारको साढे तिन वर्षको कार्यालयमा तराई–मधेशलाई जोड्ने बहुप्रतिक्षित र राष्ट्रिय गौरबको योजना हुलाकी राजमार्ग निर्माण, मदन भण्डारी लोकमार्ग, प्रत्येक स्थानीय तहमा स्वास्थ्य संस्थाको सथापना जस्ता महत्वपूर्ण काम भएको बताउदै मधेश प्रदेशमा एमालेलाई निषेधित गर्ने नारा चलिरहंदा आफ्नो नेतृत्वको सरकारले प्रदेशमा १ लाख २२ हजार हेक्टर जग्गा सिंचित गर्ने ‘सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना’ ल्याएको बताउनु भयो ।
एमाले नेतृत्वकै सरकारले ल्याएको ‘जनता आवास’ कार्यक्रमका कारण हजारौं दलित तथा गरिवहरुले आज पक्की घर पाएको जिकिर गर्दै पुर्व प्रधानमन्त्री समेत रहेको अध्यक्ष ओलीले वीरगंज र जनकपुर जस्ता मधेशका ठूला र महत्वपूर्ण शहरमा ४ र ६ लेनको कालोपत्रे सडक पनि आफू प्रधानमन्त्री रहेको बेलानै निर्माण गरिएको बताउनु भयो ।
उहाले एमाले नेतृत्वको सरकार हुंदा जनातामा यो देशमा सरकार छ भन्ने अनुभूती थियो, तर अहिले त जनताले सरकार नै नभएको अनुभूती गरिरहेका छन् भन्नु भयो ।
समारोहमा एमालेका सचिव रघुवीर महासेठले हामीले सबै जातजातिलाई समेटेर जानुपर्ने बताउदै नेकपा एमालेको जनाधार हाम्रो पेशा वर्ग मात्रै होइन, यहाँ बस्ने सबै जातजाती जनाधार भित्र पर्छ, त्यसैले हामीले सबैलाई समेटेर हिंड्नु पर्छ भन्नु भयो ।
नेपाल पिछडावर्ग (ओ.बि.सि.) महासंघका अध्यक्ष तेजप्रकाश निषादको सभापतित्वमा आयोजित उद्घाटन समारोहमा पूर्वमन्त्री एवम् एमालेकी नेतृ ज्वाला साह, संगठन विभाग प्रमुख भानुभक्त ढकाल, सचिव रचना खड्का, केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, प्रभु हाजरा, केन्द्रिय सदस्य अरविन्द सिंह, नेता जय प्रकाश थारु, जालिम मियां, एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्माल लगायतको उपस्थिति रहेको थियो ।
Facebook Comments Box