वीरगंज, २१ चैत्र ।
नेपाल टेलिकमले फाइबर विच्छ्याउदा कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको भन्दै वीरगंज महानगरपालिकाले टेलिकम परिसरमा फोहोर थुपारेर बिरोध गरेको छ ।
टेलिकमले कालोपत्रे सडक र फुटपाथ खनेर सडक विगार्दा नगरवासीले पीडा भोग्नु परेको भन्दै महानगरले निर्माणका लागि पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि श्रीपुरस्थित टेलिकमको क्षेत्रीय कार्यालय परिसरमा सांकेतिक विरोधस्वरुप फोहोर खसालेको हो ।
महानगरपालिकाले वीरगंजमा संचालन गरिरहेको सरसफाइ तथा स्वच्छता अभियानमा टेलिकमले भांजो हालेको भन्दै महानगरपालिकाका कर्मचारी र नगरप्रहरी सहितको टोलीले ७ ट्याक्टर कचरासहितको फोहोर टेलिकमको परिसरभित्र लगेर फालेको हो ।
टेलिकमले अप्टिकल फाइवर विच्छ्याउने क्रममा बाइपास सडकखण्डको करिब ५ किलोमिटर कालोपत्रे सडक र फुटपाथ खनेर महिनौंदेखि अलपत्र छाडेको छ । खनिएका सडक र फुटपाथ मर्मतका लागि पटक–पटक आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर टेलिकम परिसरमा कचरा सहितको फोहोर फाल्नु परेको मेयर राजेशमान सिंहले बताउनुभयो ।
कार्यालयमै फोहोर फालेपछि खनेर अलपत्र छाडिएका सडक र फुटपाथ मर्मतका लागि अब टेलिकमलाई दबाब पर्ने मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले बताउनुभयो ।
गएको फागुन ३ गते प्रमुख जिल्ला अअधिकारीकै उपस्थितीमा बसेको सरोकारवाला निकायहरुको बैठकमा टेलिकमले खनिएका सडक र फुटपाथ फागुन मसान्त भित्रै मर्मत गरिसक्ने लिखित सहमति गरेको स्वकीय सचिव घिमिरेले बताउनुभयो । उक्त सहमति कार्यान्वयनका लागि महानगरपालिकाले टेलिकमलाई पटक–पटक आग्रह गर्दै आएको थियो ।
सहमति पालना गराउनका लागि महानगरपालिकाले जिल्ला प्रशासन कार्यालय पर्सालाइ पनि पत्र लखेर आग्रह गर्दा समेत टेलिकमले नटरेको घिमिरेको भनाई छ ।
टेलिकमले खनेर अलपत्र परेको सडक उसैले बनाउनु पर्नेमा बनाउन ढिला गर्दा नगरवासीले लामो समयदेखि समस्या भोग्दै आएकाछन् ।
यो सडक खण्डमा नेपाल खानेपानी संस्थान र मोतिहारी अमलेषगंज पेट्रोलियम पाईपलाईनले समेत आफनो योजना कार्यान्वयनका क्रममा सडक खनेका छन् । खानेपानी र पेट्रोलियमले अपेक्षित काम गरे पनि टेलिकमले कामै नगरेपछि यस्तो कदम चालिएको मेयर सिंहले बताउनु भयो ।
Facebook Comments Box