सहारा संवाददाता–––––––––––––––
वीरगंज, १८ चैत्र ।
सडक तथा राजमार्गमा सवारी व्यवस्थापनको मुख्य जिम्मेवारीसाथ परिचालित पर्साका ट्राफिक प्रहरी मुख्य दायित्वबाट विमुख भई अवैध असुली तर्फ केन्द्रित भएको देखिन थालेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साबाट खटिने ट्राफिक प्रहरीको जिल्ला भरीको कुरै छाडौं सदरमुकाम वीरगंज महानगर क्षेत्र भित्र कै ट्राफिक व्यवस्थापनमा फितलो प्रस्तुतीका कारण दिनहु दुर्घटनाको जोखिम देखिने गरेको छ ।
भिडभाड तथा सवारी साधनको अनियन्त्रीत चाप भएको स्थानहरुमा ट्राफिक व्यवस्थापन गर्नु पर्ने तर्फ कुनै किसिमको चासो नदेखाउनुको साथै ट्राफिक प्रहरी समेत परिचालन गरिएको देखिंदैन ।
तर भारतीय सवारी साधनको चाप हुने ड्राईपोर्ट, परवानीपुर, पावरहाउस, गण्डक,बसपार्ट र वीरगंज भन्सार तथा रजतजयन्ति चोक लगायतका सडकमा भने व्यापक रुपमा ट्राफिक प्रहरी परिचालन गरी चेकजाँचका नाममा अवैध असुलीमा सकृयता भने व्यापक रुपमा देखिने गरेको छ ।
भारतीय सवारी साधनका चालकहरुको गुनासो सुन्ने हो भने–ट्राफिक प्रहरीले ओभर लोड, एन्ट्रि, कागज पत्र लगायतमा त्रुटि निकालेर अल्झाएर अनावस्यक बखेडा झिकेर प्रति सवारी साधन रु. २ सय देखि २ हजार सम्म असुल्ने गरेका छन ।
यसो त भारतीय नम्बरका सवारी साधनसंग मात्र नभई नेपाली नम्बरका सवारीसाधनहरूसंग पनि ट्राफिक प्रहरीले विभिन्न बहानामा अवैध असुली गरेर दुःख दिने गरेको गुनासाहरू प्राप्त भएका छन्।
दैनिक रुपमा वीरगंज भन्सार कार्यालय, आईसीपी र सुख्खा बन्दरगाहबाट विभिन्न उद्योग तथा ट्रेडि·का लागी आयात हुने तयारी तथा कच्चा पदार्थ ढुवानी गर्ने सवारीसाधनहरुबाट ओभरलोड लगायतको बहानामा कारवाही गर्नुको सट्टा ट्राफिक प्रहरीहरुले अवैध असुली गर्दै आएका छन् ।
त्यस्तै ग्रामीण क्षेत्रबाट धान लोड भई आउने ट्याक्टरका चालकहरुसंग प्रति ट्याक्टर रु. १ सयदेखि २ सय सम्म असुल्ने गरिएको जो सुकै ट्याक्टर चालकहरुबाट बुझ्न सकिन्छ ।
धान लोड भएर आउने ट्याक्टरसंग पोखरिया, तिलावे पुल र बहुवरी चोकमा रोकेर अनावश्यक झन्झट खडा गरी असुली गर्ने गरिएको चालकहरुको गुनासो छ ।
सरकारी तलब खाएर, कानुनको कार्यान्वयन गराउन प्रतिबद्ध रहेको ट्राफिक प्रहरीले पर्सामा सवारी चालकहरुलाई आतंकित पारेको छ । मासिक र दैनिक रुपमा असुलीको नियम बनाएर ट्राफिक प्रहरीहरुले अबैध रकम उठाइरहेको सवारी चालकहरु बताउ छन् ।
सवारीसाधनका चालकहरु तथा एजेन्टमार्फत् ड्राईपोर्टस्थित बहुवरी ट्राफिकका सई मुनिजी यादव र परवानीपुर चौकस्थित ट्राफिकका असई वीर बहादुर यादवको कमाण्डमा खटिने प्रहरीले अवैध असुली गरिरहेको स्रोतको दावी छ । प्रत्येक दुई महिनामा परवानीपुर, बहुअरी, गण्डक र वीरगंज भन्सार तथा रजत जयन्ति चौकका ट्राफिक प्रहरीका यूनिट परिवर्तन हुने गरेका छन् ।
देनिक हजारौं हजार सवारी साधन ओहोर दोहोर गर्ने उक्त ठाउहरुमा सवारीचालकहरुले ट्राफिकको यस्तै नियति व्यहोर्नु परिरहेको पर्सा जिल्लाका ग्रमिन भेगबाट धान ढुवानी गर्ने एक पीडित चालक बताउछन् ।
हुन त भारतबाट आउने मालवाहक ट्रकहरुमध्ये अधिकांश सवारी साधन ओभरलोड नै आउने गर्छन् र ट्राफिकसंग समन्वय गरी एजेन्टहरुले मालवाहक सवारीका साहुसंग ठेक्का मिलाई पास गराउदै आएका छन् ।
मालवाहक सवारीसाधनको “भारवहन नियम सम्बन्धी निर्देशिका २०७४” मा तोकिएको क्षमताभन्दा बढी भार बोकेको पाइएमा त्यस्ता मालवाहक साधनलाई जरीवाना गरी बढी भएको मालसामान झार्नुपर्ने व्यवस्था छ । सोही कानूनमा टेकेर जाँचमा खटिएका ट्राफिक प्रहरीले ट्रक चालकसंग अनधिकृत रूपमा रकम असुल्ने गरेका छन् ।
क्षमताभन्दा बढी भार बोक्ने साधनलाई ट्राफिक प्रहरीले रु. एक हजार पाँच सय जरिवाना तिराउन सक्छन । जरिवाना गरेर बढी भार मिलान गरेपछि मात्र जान दिनुपर्नेमा अनधिकृत रकम लिएर छाड्ने गरेको जोकोहीले पनि देख्न सक्छन् । वीरगंज भन्सार कार्यालय, आईसीपी तथा सुख्खा बन्दरगाह भन्सार कार्यालयबाट सामान लिएर छुटेका बिशेष गरी भारतीय मालवाहक ट्रक तथा लहरीहरुसंग ट्राफिक प्रहरीले सामान र भार हेरेर एक सय देखि १५ सय रुपैया सम्म असुल्ने गरेको स्रोतले जानाएको छ ।
यसै विच ट्राफिक प्रहरीसंग समन्वय गरी सवारी छुटाउने दलालहरुले पनि प्रतिगाडी रु. १ हजारदेखि रु. १ हजार ५ सयसम्म लिई ट्राफिक र दलालहरुले भागबण्डा मिलाउने गरेको श्रँेतबाट खुलेको छ । दलालहरुबाट समन्वय गरेका गाडीहरुलाई भने ट्राफिक प्रहरीले बिना चेक जाँच काउन्ट गरेर पठाउने गरेको चोकमा बस्ने जो कोहीले पनि देख्न सक्छ । तर, एजेन्ट दलालहरुको चपेटामा नपरेका र आफूखुसी आउने गाडीका चालकहरुलाई भने ट्राफिक प्रहरीले दुःख दिने गरेका एक चालकले नाम नखोल्ने सर्तमा बताए । अहिले ट्राफिक प्रहरीको चेकजाँचको नाममा पैसा असुल्ने रणनीतिका कारण ड्राइपोर्ट बहुअरी, पावरहाउस चोक, गण्डक र परवानीपुर सडकखण्डमा सवारी जामसमेत हुने गरेको छ ।
बहुवरी चौकमा ट्राफिक प्रहरीले अबैध रकम उठाएको फोटो, भिडियो तथा चोकमा बस्ने स्थानीयले नजर राख्न थालेपछि उनीहरुले पहिला उठाउने ठाउँबाट १० कठा पश्चिम एकान्त ठाउमा सारेर असुली गरिरहेका छन् । यस सम्बन्धमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक मनीराम थापासंग जिज्ञासा राख्दा उहाले म भरखरै आएकोले केहि जानकारी नभएको बताउदै चाडै यस्ता समस्याहरु समाधान गर्ने बताउनु भयो ।
यसरी कमाउ पोष्ट (चोकहरुमा) व्यापक ट्राफिक प्रहरी परिचालन भएको देखिन सकिने भएपनि सहरी क्षेत्रको दुर्घटना ग्रस्त क्षेत्र तथा चोकहरुमा प्रहरीको भुत पनि नभेटिने सर्वविदितै छ ।
Facebook Comments Box