सहारा संवाददाता–––––––––––––––
जनकपुरधाम, १८ चैत्र ।
भुमिहीन दलित, सुकुम्बासीहरुको भुमि अधिकार र चुरे वन जंगल संरक्षण सम्बद्र्धनसहितको माग लिएर आमरण अनसनमा बसेका सुनिल यादवले अनसन तोडेका छन ।
शुक्रवार दिउसो देखि आमरण अनसनमा बसेका सुनिल यादवलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले शनिवार बिहान जुस खुवाएर अनसन तोड्न लगाएका हुन् ।
मुख्यमन्त्री यादवले एक साताभित्र एक समिति गठन गरेर प्रदेश सरकारले सक्ने जति गर्ने तथा केन्द्र सरकारसंग सरोकार रहेको विषयमा केन्द्र सरकारसंग पहल गर्ने प्रतिबद्धता व्यक्त गरे पछि अनसनरत यादवले अनसन तोड्न तयार भएका थिए । मुख्यमन्त्री यादवले भूमिहीन सुकुम्बासीहरुको लागी पनि दलित आवास योजना अगाडि बढाउदै लागू गर्ने विश्वास पनि दिलाउनु भएको छ । चुरे तथा वनजंगल संरक्षण अभियानका राष्ट्रिय संयोजक सुनिल यादव शुक्रवार दिउसो ४ बजेदेखि विभिन्न ६ बुंदे मागसहित जनकपुरधामको जनकचोकमा आमरण अनशनमा बसेका थिए । उद्योग, पर्यटन तथा वन मन्त्री सुनिता यादवले वनसित सम्बन्धित विषयहरु सम्बोधन गर्नको लागि कुनै कसर नराख्ने बताइन ।
अनसन स्थल पुगेका धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले केन्द्र सरकारबाट सम्बोधन हुने विषयहरु बारे आपूmले पनि पहल अघि बढाउने जानकारी दिनुभयो ।
कतिपय कुरामा कानून बन्नुपर्ने अवस्था रहेको बताउदै प्रजिअ दाहालले अन्य विषयमा पनि छलफल गरेर सकारात्मक रुपमा अघि बढ्नको लागि आग्रह गर्नु भयो ।
तीनवटै तह मध्ये कुनै तहको सरकारले अहिलेसम्म आफूहरुको मागप्रति चासो नदेखाउदा बाध्य भएर आमरण अनशनमा बस्नुपरेको संयोजक यादवले बताउनुभयो ।
यसअघि भूमिहिन तथा सुकुम्वासीहरु जनआवाज आन्दोलन सुरु गर्दै गत फागुन ११ गतेदेखि धर्नामा बस्दै आएका थिए ।
Facebook Comments Box