spot_img
Homeदेशमधेशसिर्सिया नदी प्रदुषन गर्ने पाँच उद्योगलाई १५ लाख जरिवाना

सिर्सिया नदी प्रदुषन गर्ने पाँच उद्योगलाई १५ लाख जरिवाना

वीरगंज, १४ चैत्र ।
वीरगंज महानगरपालिकाले सिर्सिया नदी प्रदुषित गर्ने पाँच उद्योगलाई कारबाही गरि १५ लाख रुपैया जरीवाना गरेको छ ।
महानगरपालिकाले वीरगंज–पथलैया औद्योगिक कोरिडोरमा रहेका पाँच उद्योगलाई जनही रु. ३/३ लाखका दरले जरीवाना गरेको हो ।
महानगरले वीरगंज महानगरपालिका वडा नं. २१ मा अवस्थित ग्लोबल लेदर उद्योग प्रालि , अर्निका प्रोसेसिङ उद्योग प्रालि , श्रीसिधी टेक्सटायल्स प्रालि , मोरियम लेदर उद्योग प्रालि र वडा नम्बर ३२ मा अवस्थित दुर्गा पुल्प एण्ड पेपर प्रालिलाई रु. ३/३ लाखका दरले जरीवाना गरेको हो ।
नदि प्रदुषित गरेका पाँच वटै उद्योगलाई मंगलबार पत्रचार गर्दै ७ दिनभित्र जरीवानामा तोकिएको रकम महानगरपालिकाको कार्यालयमा बुझाउन निर्देशन दिइएको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिनु भयो ।
७ दिन भित्र जरीवाना बापतको रकम नबुझाएमा प्रचलित कानुन अनुसार ती उद्योगहरु विरुद्ध थप कारबाही प्रकृया अगाडि बढाइने महानगरको पत्रमा उल्लेखछ ।
वीरगंज महानगरपालिकाको वातावरण तथा प्राकृतिक श्रोत संरक्षण ऐन २०७७ को दफा ३७ अनुसार नदि प्रदुषित गर्ने ५ उद्योगहरुलाई कारबाही स्वरुप जरिवाना गरिएको पौडेलले बताउनु भयो ।
करिब तीन दशकदेखि प्रदुषणको चपेटामा परेको वीरगंज शहरको लाइफलाइनकै रुपमा रहेको सिर्सिया नदिलाई प्रदुषणमुक्त बनाउन महानगरपालिकाले विगत दुई महिना यता अभियान चलाई रहेको छ ।
अभियान अन्तर्गत नै महानगरले उपमेयरको संयोजकत्वमा गठन गरेको सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले पटक–पटक अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा नदी तटमा रहेका उद्योगहरुले त्यहाबाट निस्कने फोहोर ( रसायनयुक्त फोहोर पानी, छालाको लेदो, कोइलाको छाई लगायतका वस्तु ) सिधै नदिमा फाल्दै आएको भेटिएको थियो ।त्यसपछि फागुन ३ मा बसेको समितिको बैठकले नदी प्रदुषण गर्ने उद्योगहरुलाई कारबाही गर्ने निर्णय गरेको थियो । त्यहि निर्णय अनुसार महानगरले अहिले जरिवानामा परेका तीनै ५ उद्योगलाई पत्र पठाएर नदि प्रदुषण नगर्न चेतावनी पनि दिएको थियो ।
महानगरले लिखित रुपमै चेतावनी दिदा समेत अटेरी गरि उद्योगका फोहोर र रसयानयुक्त पानी सिधै नदिमा फाल्ने क्रम नरोकिएपछि ति उद्योगहरुलाई जनही रु. ३/३ लाख दरले जरीवाना गरिएको महानगरका मेयर राजेशमान सिंहले बताउनुभयो ।
उहाले सिर्सिया नदि वीरगंज शहरकै लाइफलाइन हो , त्यसका कारण यो नदिलाई प्रदुषित बनाउने जोसुकै होस् उसविरुद्ध महानगरले कारबाही गर्छ , नदिलाई प्रदुषणमुक्त बनाउने अभियान अब रोकिदैन ।
बारा जिल्ला स्थित सीमरा भन्दा पश्चिममा पर्ने रामवनस्थित वनबाट बग्न शुरु गरेको र्सिसिया नदी पर्सा जिल्ला सदरमुकाम वीरगंज शहर हुदै भारतको रक्सौल सम्म पुगेको छ । औद्योगिक कोरिडोरमा रहेका छाला, डिस्टीलरी, टेक्सटायल, घ्यू, साबुन लगायतका उद्योगबाट निस्कने रसायनयुक्त पानीसँगै जीवजन्तुका सडेगलेका छाला, रौं, खरानी, लेदो लगायतका विकारहरू नदीमा मिसिइदा दुर्गन्धित बनेको हो ।
नदीको प्रदुषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैया सहित करिब एक दर्जन बढी गाउ र टोलका बासिन्दा प्रभावित हुंदै आएका छन् ।
सिर्सिया नदी आसपासका स्थानीयले प्रदुषण रोक्न माग गर्दैै घेराउ गरेपछि २०६७ सालमा जिल्ला प्रशासन कार्यालयले सिर्सिया नदी अनुगमन समिति गठन गरेको थियो । उक्त समितिले नदीको स्थलगत अनुगमन गरी तयार पारेको प्रतिवेदनमा प्रदुषणको कारक उद्योगहरु नै रहेको उल्लेख थियो। प्रतिवेदनमा नदी प्रदुषण गर्ने र अविलम्ब कारबाही गर्नुपर्ने उद्योगहरुको नामै किटान गरिएको थियो ।
समितिले २०६७ साल मंसिर २२ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी नागेन्द्र झालाई उक्त प्रतिवेदन बुझाएको थियो । सिर्सिया नदीको प्रदुषण रोक्न माग गर्दै एकदशक यता विभिन्न संघसंस्था र अभियन्ताहरुले निरन्तर दवावमूलक कार्यक्रम गर्दै आइरहेका छन् ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -