वीरगंज, १२ चैत्र ।
वीरगंज महानगरपालिकाले सार्वजनिक जग्गामा अवैध उत्खनन गर्ने स्काभेटरसहित चार टिपर नियन्त्रणमा लिएको छ ।
वीरगंज महानगरपालिका वडा नं. २८ दर्दवास्थित गुठीको सार्वजनिक जग्गामा करिब २ महिनाभन्दा अघिदेखि अवैध रुपमा उत्खनन गर्दै आएको सूचनाको आधारमा खटिएका नगर प्रहरीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।
नगर प्रहरी निरीक्षक हरिप्रसाद भुषालका अनुसार ना ८ ख ४१२५, ना ७ ख ६५९७, ना ७ ख ६६०३ र ना ८ ख५४०३ नम्बरको टिपर र बा २ ख ६२३३ नम्बरको स्काभेटर नियन्त्रणमा लिएको हो ।
मेयर राजेशमान सिंहको निर्देशनअनुसार नगर प्रहरी निरीक्षक भुषालकै नेतृत्वमा दर्दवा पुगेको टोलीले टिपर र स्काभेटर नियन्त्रणमा लिएको हो ।
गुठीको नाममा रहेको सार्वजनिक जग्गालाई आफ्नो सम्पति ठानेर निजी स्वार्थका लागि प्रयोग गर्नेहरुलाई कडा कारवाही गर्नुपर्ने वीरगंज २८ का स्थानीय युवा जितेन्द्र कुमार पटेल बताउछन् ।
यो गुठीको सार्वजनिक जग्गामा केही व्यक्तिहरुले करिब २ महिनादेखि उत्खनन् गरेर माटो बेचीरहेका छन् । उकालो भएको जग्गा पनि खन्नुका साथै समथर भएको जग्गामा पनि खनेर माटो बेचेको उनले बताएका छन् ।
दर्दवास्थित नदिको छेउबाट निरन्तर रुपमा उत्खनन भइरहेको हुंदा यसले भविष्यमा आफूहरुलाई जोखिम हुने स्थानीय शेष पटेलको भनाइ छ ।
महुवन गुठीको नाममा रहेको जग्गा व्यक्तिगत स्वार्थपुर्तीका लागि प्रयोग भइरहेको स्थानीयले बताएका छन ।
माटो उत्खनन् गरेर प्रति टिपर रु. १५ सय देखि ३ हजार सम्म बेचीरहेका छन् भने त्यही जग्गामा पोखरी खनेर माछापालन समेत गरी रहेको स्थानीयको भनाइ छ । १२ बिघा क्षेत्रफलको जग्गामा पोखरी खनेर माछापालन गरिएको छ । यसमा गुठीका हाकिमहरुको पनि मिलेमतो रहेको आरोप पनि स्थानीयको छ ।
Facebook Comments Box