कपिल डंगोल–––––––––––––––
वीरगंज, १० चैत्र ।
वीरगंज महानगरपालिकाको वडा कार्यालय र स्वास्थ्य कार्यालय मासिक रु. ४६ हजार भाडा तिरेर बसेको छ भने आफ्नै स्वामित्वको करोडौं मुल्य पर्ने जग्गा कौडिको मुल्यमा भाडा लगाएको समाचार बुझिन आएको छ ।
वीरगंज महानगरपालिका वडा नं. १२ को वडा कार्यालय मासिक रु. ३५ हजार भाडाको घरमा रहेको छ भने सोही वडाको स्वास्थ्य चौकीले मासिक रु. ११ हजार भाडा तिरेर कार्य गरी रहेको छ भने वीमनपाको स्वामित्वमा रहेको सोही वडाको करोडौं मुल्य पर्ने जग्गा मासिक रु. ५ हजार ४ सय मासिक भाडामा रक्सी पसललाई दिइएको समाचार बुझिन आएको हो ।
वीरगंज महानगरपालिकाले मिति २०७९ पुष १२ गतेको निर्णय अनुसार वीरगंज महानगरपालिका वडा नं. १२ निवासी दिवेन्द्र गुप्तालाई वडा अन्तरगत वाइपास सडक ब्रम्हचोकमा रहेको २० फिट मोहरा भएको १३ धुर जग्गा मासिक ५ हजार ४ सय भाडामा दाखिला गर्ने सर्तमा दिएको सम्झैता पत्रमा उल्लेख छ ।
यसरी वीमनपा कै स्वामित्वमा रहेको जग्गामा भवन निर्माण गरी वडा कार्यालय र स्वास्थ्य चौकी समेत राख्न सकिने भए पनि महानगरपालिकाले वडा कार्यालय र स्वास्थ्य चौकीको लागी मासिक रु. ४६ हजार (वार्षीक रु. ५ लाख ५२ हजार) भाडा तिरेर संचालन गरिरहेको छ ।
आफ्नो जग्गा भने कौडिको मुल्य अर्थात मासिक रु. ५ हजार ४ सय मात्र भाडा लिने गरी व्यक्तिलाई दिनुमा महानगरका सम्बन्धीत पदाधिकारीको स्वार्थ रहेको छर्ल· देखिन्छ ।
वीरगंज महानगरपालिकाको सार्वजनिक जग्गालाई कौडीको मूल्यमा रक्सी पसल सञ्चालन गर्न दिएपछि स्थानीयवासीले विरोध गर्न थालेका छन् ।
नगरविकासको स्वामित्वमा रहेको सार्वजनिक कल्र्भडको ३६० वर्गफिट जमिन, जहां वर्षौ पुरानो पिपलको बोट थियो र स्थानीयहरूले पूजा पाठ समेत गर्ने गर्थे सो स्थानमा रक्सी पसल संचालन गर्न महानगरले स्थानीय दिवेन्द्र (दिपेन्द्र) गुप्ता नाम गरेको व्यक्तिलाई रक्सी पसल संचालन गर्न भाडामा दिएपछि ब्रह्रचोकका स्थानीयवासी आक्रोशित बनेका हुन् ।
ब्रह्रचोकका स्थानीयवासीले जल चढाउने र पूजापाठ गर्दै आएको पिपलको रुखलाई हटाएर उक्त स्थानमा गुप्ता सेकुवा कर्नरलाई भाडामा अनन्तकाल सम्मको लागि उपभोग गर्न दिएको जानकारी प्राप्त हुन आएको छ ।
एका तिर महानगर प्रमुख राजेशमान सिंहले सार्वजनिक जमिनमा रहेका अतिक्रमण हटाएको प्रचारवाजी गर्दै हिंडेपनि भित्री रुपमा महानगरपालिकाको स्वामित्वको सार्वजनिक जमिन रक्सी पसल संचालनकालागि व्यक्तिलाई कौडीको मूल्यमा भाडामा दिनुले पनि स्वार्थ झल्कीन्छ ।
नेपाल सरकारले सार्वजनिक जग्गा प्रयोग सम्वन्धमा छुट्टै कार्यविधि र मापदण्ड बनाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले सार्वजनिक प्रकृतिको जग्गा प्रयोग गर्न उपलब्ध गराउने सम्बन्धि मापदण्ड २०७७ को दफा ३ मा सार्वजनिक जग्गा सरकारी विद्यालय, अस्पताल, स्वास्थ्य केन्द्र, सरकारी कार्यालय वा काम काजको लागी मात्र प्रयोग गर्न सकिने व्यवस्था गरेको छ ।
मापदण्डले स्थानीय तह भित्र रहेका सार्वजनिक जग्गाको संरक्षण र सम्वद्र्धनको जिम्मेवारी मात्र स्थानीय तहलाई तोकेको छ । वडा कार्यालय भित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गर्ने पहिलो दायित्व वडा कार्यालयको हुने छ भनिएको छ तर वीरगंज महानगरपालिकाले वडा कार्यालयसंग कुनै समन्वय नै नगरि सार्वजनिक जग्गामा रक्सी व्यवसाय गर्न भाडामा दिएको बताइन्छ ।
सार्वजनिक सम्पति स्थानीयवासीको अधिकतम हितमा प्रयोग गर्ने उद्देश्यले त्यसको संरक्षण र प्रवद्र्धन गरिनु पर्नेमा वडावासीसंग कुनै सरोकार नराखी एउटा व्यक्तिलाई रक्सी व्यवसाय संचालनको लागि भाडामा दिनु दुःखद कुरा भएकोवडावासीहरू बताउछन् ।
व्यक्तिगत जग्गामा नक्सापास नगरी बनाइएको घर डोजर लगाएर भत्काउने तर महानगरका जन प्रतिनिधि एवं कर्मचारीलाई रिझाएर भाडा लिन सफल सो जग्गामा कुनै नक्सा पास नै नगरी रक्सी पसल सञ्चालनकोलागि पक्की घर निर्माण भइरहेको देखिन्छ ।
ब्रम्हचोकमा बाइपासरोडसँग जोडिएको उक्त जग्गा मासिक पाँच हजार चार सयमा भाडामा दिनुको सट्टा सो स्थानमा वडा नं. १२ को कार्यालयको भवन निर्माण गर्ने हो भने हाल वडा नं. १२ कार्यालयले मासिक रुपमा तिर्दै आएको अफिस भाडा ३५ हजार र स्वास्थ्य चौकीले तिर्दै आएको भाडा ११ हजार गरि मासिक ४६ हजारको दरले पाँच वर्षमा २७ लाख ६० हजार रुपैयाँ बचत हुने थियो तर महानगरापलिका व्यक्ति रिझाउन महानगरलाई आर्थिक भारमा पारेको देखिन्छ ।
त्यसै गरी वीरगंज महानगर शिक्षा समितिका सदस्य मदन गुप्ताका भतीजा राजु गुप्ताले महानगरमा सुपरभाइजरको नियुक्त लिएर तलब महानगरबाट तलब बुझ्ने तर ड्युटी भने अन्य कारखानामा गर्ने गरेको चर्चाले समेत व्यापक्ता पाएको छ ।
Facebook Comments Box