वीरगंज, ०५ चैत्र ।
पर्सा प्रहरीले प्रतिबन्धित लागु औषध सहित २ जनालाई पक्राउ गरेको छ ।
बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी उपरीक्षक कोमल शाहको कमाण्डमा खटिएका प्रहरी टोलीले वीरगंज महानगरपालिका वडा नं. १६ स्थित इनर्वा गाउबाट एक जना र प्रहरी चौकी इनर्वाको टोलीले संकराचार्य गेट नजिकबाट एक जनालाई लागु औषध सहित पक्राउ गरेको हो ।
प्रउ शाहको नेतृत्व टोलीले वीमनपा वडा नं.१६ ईनर्वा गाउ स्थित धर्मकांटा अगाडी पार्किङमा रहेको भारतीय BR 07 GA 9691 नम्बरको मिनि ट्रकलाई चेकजांच गर्दा उक्त ट्रकको पछाडी भागको तल सामान राख्ने गोप्य ठाउ बनाई लुकाइ छिपाइ राखिएको अवस्थामा लागु औषध गाँजा १४९ किलो फेला परेको जिप्रकाले जनाएको छ ।
लागु औषध गाँजा फेला परे पछि मिनि ट्रक सहित चालक भारत राज्य मोतिहारी पुर्वी चम्पारण जिल्ला पोष्ट सपाहा दक्षिणी मनासिंगा लक्ष्मीपुर वडा नं. ११ को ओम प्रकाश सिंहलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसुरमा आइतवार म्याद थप गरी अनुसन्धान भइ रहेको जिप्रकाले जनाएको छ ।
त्यसै गरी प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले वीमनपा वडा नं.१६ शंकराचार्य गेट स्थित सडकखण्डबाट लागु औषध Onerex 100 ml सिरफ ५ कार्टुनमा रहेको १७८ बोतल सहित एक जनालाई पक्राउ गरेको छ ।
जिप्रका पर्साका प्रवक्ता प्रनाउ दिपक गिरीले दिएको जानकारी अनुसार वी.म.न.पा.१ ह १–०११८ नम्बरको ई–रिक्सा संकास्पदरूपमा भारत रक्सौलबाट वीरगंज तर्फ आउदै गरेको अवस्थामा प्रहरी टोलीले चेकजांच गर्दा उक्त ई–रिक्सा चालक वी.म.न.पा. वडा नं. १५ भिष्वाको बलजित यादवले सिट मुनी लुकाइ छिपाइ ल्याएको प्रतिबन्धित लागु औषध Onerex 100 ml फेला परेको हो ।
फेला परेको लागु औषध Onerex सहित ई–रिक्सा र चालक यादवलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइ रहेको जिप्रकाले जनाएको छ ।
Facebook Comments Box