वीरगंज, ३० फाल्गुन ।
वीरगंज महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा खोजि अभियानलाई निरन्तरता दिएको छ ।
सोमबार वडा नम्बर १९ मा ५ विघा ७ कठ्ठा जग्गा अतिक्रमण मुक्त गरेको महानगरको टोलीले मंगलबार ७ विघा भन्दा बढी सार्बजनिक जग्गा आफ्नो नियन्त्रणमा ल्याएको हो ।
स्थानीय केही व्यक्तिले अतिक्रमण गरेर कब्जामा राखेको जग्गा महानगरले आफ्नो नियन्त्रणमा ल्याउने क्रममा महानगरको टोलीले नापजांच गरेर सार्वजनिक र निजी जग्गा छुट्याएर तारबारका लागि खन्ने काम समेत संचालन गरेको छ ।
सार्वजनिक जग्गा छुट्याएर तारबार गरि वृक्षारोपण गर्ने महानगरको योजना रहेको जनाइएको छ ।
सार्वजनिक तथा ऐलानी जग्गा अतिक्रण गरी निजी प्रयोजनमा प्रयोग गर्दै आएको जग्गा खोजी गर्न महानगरको टोली नक्सा लिएरै संभावित स्थानमा पुगेको हो ।
अतिक्रमण गरेको सार्वजनिक जग्गा छुट्याउन दिनभर नापजांच गरेर छुट्याउनुका साथै डोजर लगाएर सीमा छुट्याउने काम गरिएको वीमनपा वडा नं. १९का वडा अध्यक्ष मुकेश कुमार चौरसियाले जानकारी दिनु भयो ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले नगरक्षेत्र भित्र रहेका सार्वजनिक जग्गा पहिचान गरी महानगर माताहातमा ल्याउन अभियान अगाडि बढाएसंगै दुई दिनमा वडा नं. १९ को १२ विघा जग्गा आफ्नो अधिनमा ल्याउन सफल भएको बताउनु भयो ।
अतिक्रमित जग्गा खोजी अभियान ३२ वटै वडामा संचालन हुने पनि महानगरले जनाएको छ ।
हरेक वडामा रहेका सार्वजनिक जग्गा तथा सम्पत्तिको अभिलेखिकरण गरेर राख्न र आवश्यकता अनुसार प्रयोग गर्न महानगरले खोजी अभियान अघि बढाएको मेयर सिंहले बताउनु भयो ।
अभियान अन्तर्गत सोमबार मेयर सिंहको सचिवालयका हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयांल, वडा नं. १९ का वडा अध्यक्ष मुकेस कुमार चौरसिया, नगर प्रहरी प्रमुख हरि भुषाल, अमिन लेखनारायण कर्ण, अनिल पंणित, रामेश्वर प्रसाद कुशवाहा लगायत स्थानीयको सहभागिता रहेको थियो ।
Facebook Comments Box