सर्लाही, २५ फागुन (रासस)
ईश्वरपुर नगरपालिकामा पहिलोपटक आँखा उपचार केन्द्र बिहीबारदेखि सञ्चालनमा आएको छ ।
नेपाल नेत्रज्योति संघ, भरतपुर आँखा अस्पताल र हिरालाल सन्तुदेवी नेत्र विज्ञान अध्ययन संस्थानको सहकार्यमा ईश्वरपुर नगरपालिकाले नगर अस्पतालको भवनमा आँखा उपचार केन्द्र स्थापना गरेको हो ।
केन्द्रका डा राकेश साहले आखाँसम्बन्धी प्राथमिक उपचार, बहिर· सेवा, चश्मा सिफारिस तथा परीक्षण गरिनुका साथै महिनाको अन्तिम साता मोतियाविन्दुको शल्यक्रिया सेवा प्रदान गरिने बताउनुभयो । उहाँले केन्द्रमा आउने सेवाग्राहीलाई आँखा स्वास्थ्य बनाउने उपाय तथा सल्लाहसमेत दिइने जानकारी दिनुभयो ।
आँखा परीक्षणका लागि केन्द्रको हातामा आउनुभएका स्थानीयवासी शिवनाथ चौधरीले आफ्नै गाउँ–ठाउँमा आँखाको परीक्षण गराउन पाउँदा खुसी लागेको प्रतिक्रिया दिनुभयो । आँखा उपचार केन्द्र सञ्चालनमा आएको पहिलो दिन स्थानीय ५० जनाको आँखा परीक्षण गरिएकामध्ये छ जनामा मोतियाविन्दु फेला पारिएको केन्द्रको ओपिडी कक्षले जनाएको छ ।
ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्यले अब आँखाको सामान्य समस्या आउँदा पनि सिराहा जिल्लाको लहान आँखा अस्पताल धाउनुपर्ने बाध्यतालाई समाधान गर्न आँखा उपचार केन्द्रको स्थापना गरिएको बताउनुभयो । उहाँले सामान्यतया स्थापित आँखा उपचार केन्द्रमा सबै सुविधा दिने गरी आँखा अस्पतालका रूपमा विकास गरिने जनाउनुभयो ।
“आँखाको ज्योति गुमाउने जोखिममा रहेकाहरूले उपचारपछि नयाँ जीवन पाउनेछन्”, प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भन्नुभयो, “राष्ट्रिय स्वास्थ्य नीति, २०७६ ले आँखा स्वास्थ्य सेवालाई एकीकृतरूपमा सञ्चालन गर्न लिएको नीतिलाई अनुसरण गर्दै मानव शरीरको संवेदनशील अ·का रूपमा रहेको आँखा उपचारमा सबै स्थानीय तहले तदारुकता देखाउनुपर्नुे पर्छ ।”
Facebook Comments Box