वीरगंज, १६ फाल्गुन ।
उद्योगबाट निस्केको छाई सिर्सिया नदीमा फाल्ने ३ ट्याक्टरलाई वीरगंज महानगरले नियन्त्रणमा लिइ कारबाही गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. २१ स्थित सिर्सिया नदीमा फोहोर फालिरहेको अवस्थामा फेला परेका ३ ट्याक्टरलाई नियन्त्रणमा लिएर कारबाही गरिएको वीमनपाले जनाएको छ ।
वीमनपाले मंगलवार विहान नियन्त्रणमा लिएको प्र २–०३–००१ त ४८७, ना १८ त ६८८९ र ना ७ त ५३८९ ट्याक्टरका चालकलाई पहिलो पटक रु. १÷१ हजार जरिबाना गरेर छाडिएको जनाएको छ ।
महानगरपालिकाले सिर्सिया नदी प्रदुषण नियन्त्रण अभियान चलाईरहेको अवस्थामा नदी प्रदुषण गर्ने जो कसैलाई पनि कारबाही गर्ने रणनीति अनुसार नदीमा फोहोर गर्नेलाई जरिबाना गर्न सुरु गरेको हो । नदी प्रदुषण नियन्त्रणका लागि महानगरले समिति नै बनाएर अनुगमनलाई समेत तिब्रता दिएको छ । नदी तटमा रहेका उद्योगहरुबाट निस्कने फोहोर जथाभावी फालिदिंदा सिर्सिया नदी प्रदुषित हुने गरेको छ । वीमनपाले उद्योगहरुलाई पनि कारबाही गर्ने तयारी अनुरुप मरियम लेदर सहित ५ उद्योगलाई पत्र पठाएर चेतावनी पनि दिएको छ । उद्योगबाट निस्केको फोहोर नदीमा ल्याएर फाल्ने ट्याक्टरलाई चेतावनी स्वरुप कारबाही गरिएको र आउदा दिनमा फोहोर पानी सोझै नदीमा मिसाउने उद्योगलाई पनि कारबाही गरिने महानगरका मेयर राजेशमान सिंहले बताउनु भयो ।
Facebook Comments Box