सहारा दैनिक

spot_img
Homeदेशमधेशस्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिको अनुगमन तिव्रः प्रयोगशालामा म्याद गुज्रेको...

स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिको अनुगमन तिव्रः प्रयोगशालामा म्याद गुज्रेको केमिकल प्रयोग गरेको फेलाः स्वीकृति बिना संचालनमा रहेको ३ स्वास्थ्य संस्थामा सिलबन्दी

वीरगंज, १० फाल्गुन ।
स्वीकृति बिना संचालनमा रहेका स्वास्थ्य संस्थामा वीरगंज महानगरपालिकाले सिलबन्दी गरेको छ ।
वीरगंज महानगरपालिका वडा नं. ४ विर्तामा स्वीकृति बिना संचालनमा रहेका तीन स्वास्थ्य संस्थालाई सिलबन्दी गरिएको हो ।
वीरगंज महानगरपालिका द्वारा गठित स्वास्थ्य संस्था दर्ता, अनुमति तथा नविकरण समितिको नेतृत्वमा खटिएको अनुगमन टोलीले स्वीकृति बिना संचालनमा रहेका तीन स्वास्थ्य संस्थामा सिलबन्दी गरेको हो ।
वीमनपाको अनुगमन टोलीले विर्ता स्थित चित्रांस पोली हेल्थ क्लिनिक, त्यसै अन्तर्गत रहेको प्याथोलोजी ल्याब र श्री गणेश डाइग्नोस्टिक सेन्टर स्वीकृति बेगर नै संचालन गरेको फेला परे पछि सिलबन्दी गरेको समितिका सदस्य जयप्रकाश महतोले जानकारी दिनु भयो ।
तीन वटै स्वास्थ्य संस्था स्वीकृति बेगर संचालन हुनुका साथै प्याथोलोजी ल्याबहरुले म्याद गुज्रेका केमिकल तथा औषधी प्रयोग गरेर रिपोर्ट तयार गर्ने गरेको पनि फेला परेको उहाले बताउनु भयो ।
महानगरपालिकाले पछिल्लो एक साता देखि वीरगंजमा संचालित प्याथोलोजी तथा क्लिनिकहरु को अनुगमनलाई तिब्र पारेको छ ।
अनुगमनमा जांदा स्वीकृति नै नलिई संचालनमा रहेको भेटिएकालाई बुधबारबाट भने सिलबन्दी गर्न सुरु गरिएको वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रितेश जयसवालले जानकारी दिनु भयो ।
बुधबार जिल्ला प्रशासन कार्यालय, वीरगंज महानगरपालिका र प्रहरीको रोहबरमा लाहाछाप लगाएर तीनै वटा संस्थामा सिलबन्दी गरिएको हो ।
टोलीले अनुगमनका क्रममा तराई डाइग्नोस्टिक, शुभम क्लिनिक र वीरगंज डेन्टल क्लिनिक एण्ड इम्प्लान्ट सेन्टर मापदण्ड विपरित संचालनमा रहेको भेटिएकाले उनीहरुलाई तत्काल बन्द गरेर मापदण्ड पुरा गरेर मात्रै संचालन गर्न चेतावनी दिइएको स्वास्थ्य शाखा प्रमुख जयसवालले जानकारी दिनु भयो ।
यस अघि महानगरपालिकाले स्वीकृति लिएर मात्रै संस्था संचालन गर्न पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरेकाले आज बाट भने बारबाहीलाई कडाई पारिएको उहाले बताउनु भयो ।
अनुगमनमा टोली पुगेको जानकारी पाए पछि अनुमति बेगर संचालनमा रहेका कतिपय क्लिनिक, डाइग्नोस्टिक सेन्टर तथा औषधी पसल संचालकहरु सटर बन्द गरेर फरार भएको पनि भेटिएको समिति सदस्य महतोले बताउनु भयो ।
महानगरले अनुगमनलाई निरन्तरता दिने भएकाले भागेर समाधान नहुने भन्दै प्रकृया पु¥याएर संचालन गर्न सबैलाई उहाले आग्रह गर्नु भयो ।
नागरिकको स्वास्थ्यमा प्याथलोजी सेन्टरहरुले खेलवाड गरिरहेको र स्वास्थ्य संस्थाहरु विना दर्ता नै संचालनमा रहेको भन्ने सूचना आएपछि वीरगंज महानगरका मेयर राजेशमान सिंहको निर्देशनमा समितिले त्यसलाई नियन्त्रण गर्न अनुगमनलाई तिब्रता दिएको हो ।
जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा स्वास्थ्य संस्थाहरुबाटै लापरवाही हुनु गम्भिर भएकाले महानगरले अनुगमनलाई तिब्रता दिंदै कारबाहीलाई पनि कडाई गर्न लागेको हो ।
अनुगमन टोलीमा समितिका सदस्य जयप्रकाश महतो, स्वास्थ्य शाखा प्रमुख रितेश जयसवाल, नर्सिङ् अधिकृत इन्दिरा लोहनी, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, प्रहरी तथा संचारकर्मीको सहभागिता रहेको थियो ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -