नेपालगंज, २५ माघ ।
नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको बताइएको छ ।
राष्ट्रिय एकता अभियानले बुधवार नेपालगंजमा आयोजना गरेको नेपाली संस्कृति र विकास क्षेत्र नेपाल–भारत सहकार्य विषयक विचार गोष्ठीका सहभागीहरुले यस्तो बताएका हुन ।
गोष्ठीमा सहभागीहरुले नेपाल–भारत विचको सहकार्यलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताएका छ्न् ।
उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताउदै धर्म संस्कृतिको सवाल होस् वा ठूला र मध्यवर्ती परियोजना नै किन नहोस्, व्यापार र पारवहनको क्षेत्रमा पनि नेपाल–भारत बीच सहयोग आदानप्रदान भइरहेको बताएका छन ।
गोष्ठीमा पूर्व मन्त्री सर्वदेब ओझाले सनातन धर्म संस्कृति र परम्पराको जगेर्ना अहिलेको आवश्यकता रहेको बताउदै नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सम्बन्ध सदियौं पुरानो रहेको बताए । उनले धर्म संस्कृतिको नाममा हुने राजनीतिले द्वन्द निम्त्याउने खतरा उच्च हुने उल्लेख गरेका छन् ।
त्यस्तै नेपाली कांग्रेस बांकेका उपसभापति गोपालप्रसाद अधिकारीले देशको धर्म संस्कृति र राष्ट्रियता माटोसंग जोडिएको धारणा व्यक्त गरे । उनले नेपाल र भारत बीचको सम्बन्ध सदियौं वर्ष पुरानो भएको स्मरण गरे । नेपाल–भारतबीच धार्मिक, सांस्कृतिक तथा व्यापारिक हिसाबले अत्यन्त सकारात्मक सम्बन्ध रहेको अधिकारीको भनाई छ । उनले दुबै देश सार्बभौमसत्ता भएकोले कसैले कसैको दबाब स्वीकार्य सम्भव नभएको बताए ।
गोष्ठीमा अन्तर्राष्ट्रिय संस्कृतिका महासचिव हर्क स्वांरले नेपाल र भारत बीचको सम्बन्ध सांस्कृतिकरुपमा बलियो भएको भन्दै यसलाई निरन्तरता दिनु पर्ने बताए । उनले धर्मको नाममा भइरहेको राजनीतिले स्वाभिमान गुम्दै गएको टिप्पणी गर्दै धर्म र राष्ट्रियताको सवालमा गरिने राजनीतिले देश कमजोर हुने उल्लेख गरे । उनले सनातन धर्म संस्कृतिको संरक्षणले मात्र देशको राष्ट्रियता जोगिने बताए ।
त्यस्तै राष्ट्रिय एकता अभियानका केन्द्रिय अध्यक्ष विनय यादवले संस्कृतिको संरक्षणले मात्र राष्ट्रियता बलियो हुने बताउदै नेपालको सनातन संस्कृति पछिल्लो अवस्थामा कमजोर हुंदै गएका कारण अहिले नेपालको राष्ट्रियता कमजोर बन्दै गएको टिप्पणी गरे । उनले भारत र नेपालको संस्कृति र परम्परा उस्तै उस्तै भएकाले त्यसको संरक्षणका लागि दुबै देशबीचको समन्वय र सहकार्य जरुरी रहेको बताए ।
गोष्ठीमा संबिधानसभा सदस्य सन्ध्या देव, नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सदस्य कृष्णा सापकोटा, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश समितिका महासचिव नवीन गिरी, सञ्चारकर्मी, बुद्धिजीवी, विभिन्न कलेजका बिद्यार्थी लगायतको सहभागिता रहेको थियो ।
नेपाल–भारत बीचको सहकार्य उदाहरणीय छ–वक्ताहरु
Facebook Comments Box