सहारा दैनिक

spot_img
Homeसमाचाररास्वपाको सरकारबाट बाहिरिने निर्णय,समर्थन कायम राख्नेः रास्वपाका मन्त्रीले बुझाए राजीनामा

रास्वपाको सरकारबाट बाहिरिने निर्णय,समर्थन कायम राख्नेः रास्वपाका मन्त्रीले बुझाए राजीनामा

काठमाडौँ, २२ माघ (रासस)
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने भएको छ ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत पार्टी सभापति रवि लामिछानेले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन फिर्ता नलिने बताउनुभएको छ ।
प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले रास्वपाको भागमा परेको गृह मन्त्रालय आफ्नो पार्टीलाई नदिने भएपछि सरकारबाट बाहिरिने निर्णय गरेको बताउनुभयो । सभापति लामिछानेले रास्वपाबाट दाहाल नेतृत्वमा बनेका मन्त्रीहरूबाट पनि आजै प्रधानमन्त्रीलाई राजीनामा बुझाउने भएको समेत जनाउनुभयो ।
लामिछानेले जनमत अनुसारको सरकारमा सहभागी भएर समझदारीमा काम अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयो, गृह मन्त्रालयमा बसेर विगतमा हामीले प्रत्येक दिन खटेर १२÷१३ वर्ष धाएर पनि काम नबनी बसेको मान्छेलाई १२ मिनेटमा काम सम्पन्न गरेका थियौँ । आगामी दिनमा बोलाए पनि जान्छु । पदको लोभ भएर होइन कामका लागि जान्छु ।
पूर्वमन्त्री तथा रास्वपाका सभापति लामिछानेले भन्नुभयो, उपनिर्वाचनबाट निर्वाचित नभई म कहीँ जाँदा पनि जान्नँ । म उपनिर्वाचनमा फेरि जनताको माझमा जान्छु । जनताले जिताएछन् भने म आउँला, जिताएनछन् भने पनि राजनीतिचाहिँ गरिरहन्छु । मलाई कुनै ठाउँमा जानु छैन ।

यसै विच राष्ट्रिय स्वतन्त्र पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजीनामा बुझाउनुभएको छ ।
आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेर उहाँहरुले राजीनामा पत्र बुझाउनुभएको हो ।
रास्वपाका तर्फबाट मन्त्रिपरिषद्मा रहनुभएका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्कीले राजीनामा बुझाउनुभएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -