काठमाडौँ, ६ माघ (रासस)
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कृषि क्षेत्रमा वृद्धि गरिने लगानीबाट मुलुकमा बलियो अर्थतन्त्रको आधारशीला सिर्जना हुने बताउनुभएको छ ।
अखिल नेपाल किसान महासंघ र स्वयमसेवक आवद्ध सामाजिक संस्थाद्वारा यहाँ आज आयोजित उत्कृष्ट युवा तथा महिला किसान सम्मान कार्यक्रममा अध्यक्ष नेपालले यस क्षेत्रमा हुने लगानीले उत्पादन वृद्धि र कृषक वर्गको आम्दानी तथा खर्च गर्ने क्षमताको विकास भई राष्ट्रिय अर्थतन्त्रका बहुपक्षीय आयामलाई गतिशील बनाउन योगदान पुग्ने बताउनुभयो ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले देशमा ठूलो मात्रामा रोजगारी सिर्जना गर्न उद्यमशीलताको विकास र पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । त्यसका लागि राष्ट्रिय पुँजी सङ्कलनको खाँचो यहाँले औँल्याउनुभयो । देश र जनतालाई गरिबीको दुष्चक्रबाट मुक्त गर्न स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारले उपभोग्य वस्तु तथा उत्पादन वृद्धि गर्नुपर्ने उहाँको भनाइ थियो । समाजवादी दर्शनले जनताको सुख र समृद्धिको चाहना राख्ने बताउँदै उक्त विचारमा आबद्ध अनुयायीले स्वरोजगारी तथा उद्यमशीलताको विकास गर्ने गरेको धारणा उहाँको थियो ।
अध्यक्ष नेपालले स्वदेशी उत्पादनको प्रयोग गरी आयात न्यूनीकरण र निर्यात बढाउन सकेमा बढदो वैदेशिक व्यापार घाटा कम गर्न सकिनेछ भन्नुभयो । अखिल नेपाल किसान महासंघका अध्यक्ष बलराम बाँस्कोटाले विसं २०१७ मा मुलुकमा छरिएको कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्न किसान आन्दोलनको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । कृषि, कृषक र जीवनकाबीचमा गहिरो सम्बन्ध रहेको उहाँको भनाइ थियो । महासंघका महासचिव प्रमेश पोखरेल, पार्टीका केन्द्रीय सदस्य मोहन गौतम, युवा कृषक सुशील खनाललगायतले कृषि क्षेत्रलाई आधुनिकरण गर्न सरकारले लगानी वृद्धि गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
लगानीबाटै अर्थतन्त्रको आधारशीला तयार हुनेछ–नेपाल
Facebook Comments Box