जनकपुरधाम, ५ माघ (रासस)
मधेश प्रदेशमा आज पाँचौँ बलिदानी दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
मधेस आन्दोलनको क्रममा आजभन्दा १६ वर्षअघि विसं २०६३ माघ ५ गते आजकै दिन सिरहाको लहानमा स्थानीय रमेश महतोले सहादत दिएको सम्झनामा मधेस प्रदेशमा विभिन्न कार्यक्रम आयोजना गरी सो दिवस मनाइएको हो ।
यसै क्रममा आज मधेसी सहिद प्रतिष्ठानले जनकपुरधाममा विशेष कार्यक्रमको आयोजना ग¥यो । कार्यक्रममा मधेस प्रदेश सरकारका बिनाविभागीयमन्त्री सञ्जयकुमार यादवले मधेस आन्दोलनका सहिद परिवार र घाइतेको व्यवस्थापनका लागि सरकारले विशेष योजनासहित काम गर्ने बताउनुभयो । उहाँले आन्दोलनका क्रममा सहादत प्राप्त व्यक्ति तथा घाइतेको छुट तथ्याङ्क सङ्कलन गरी सबैको व्यवस्थापन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मधेस जनविद्रोहको जगमा देशमा परिवर्तन आएकाले सहिदको सपना साकार गर्न आफूहरु प्रतिबद्ध रहेको बताउनुहुँदै मन्त्री यादवले सहिदको सम्मानका लागि सिरहाको लहानमा मधेसी सहिद सङ्ग्रहालय स्थापना गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रतिष्ठानका सदस्य रामनरेश यादव, सुरेन्द्रकुमार जयशवालले मधेस जनविद्रोहकै जगमा देशमा सङ्घीयता र समावेशिता सुनिश्चित भएकाले प्रदेश सरकारले सहिद तथा घाइते परिवारका लागि उचित राहत एवं रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँहरूले सहिदको सपना साकार गर्न सबै राजनीतिक दल तथा सरोकारवालाले गम्भीरतापूर्वक सोच्नुपर्ने धारणा राख्नुभयो ।
त्यसैगरी गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार महतोले मन्त्रालयअन्तर्गतको प्रतिष्ठानलाई थप बलियो बनाउँदै राहत तथा अन्य सहयोगका कार्यक्रम गर्न जरुरी रहेको बताउनुभयो । दिवसकै अवसरमा प्रदेश सरकारले ६१ जना सहिद परिवारलाई जनही रु दुई लाख नगद र दोसल्ला ओढाइ सम्मान गरिएको थियो । घाइते ८१ जनालाई रु २५ हजारदेखि रु दुई लाखसम्म आर्थिक सहयोग र सम्मान प्रदान गरेको प्रतिष्ठानका कार्यकारी निर्देशक छटु चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रमस्थलमा मधेस आन्दोलनका घाइतेले आफूहरुलाई उचित राहत दिनुपर्ने माग गर्दै ध्यानाकर्षण गराउनुभयो । आजभन्दा १६ वर्षअघि विसं २०६३ माघ १ गते जारी भएको अन्तरिम संविधानमा सङ्घीयता र समावेशीता नसमेटिएको भन्दै तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको नेतृत्वमा माघ २ गतेदेखि आन्दोलन भएको थियो । सो आन्दोलनका क्रममा माघ ५ गते सिरहाको लहानमा स्थानीय रमेश महतोको प्रहरीको गोली लागेर ज्यान गएको थियो ।
त्यसपपछि विसं २०६३ देखि २०७४ सम्म विभिन्न चरणमा भएका मधेस आन्दोलनमा एक सय १७ जनाको ज्यान गएको मेधसकेन्द्रित दलहरूले दाबी गर्दै आएका छन् । प्रतिष्ठानले पहिचान गरेका ६३ मध्ये ६१ जनालाई सहिद घोषणा गरिएको जनाएको छ ।
Facebook Comments Box