काठमाडौँ, ५ माघ (रासस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमति खोज्ने प्रयासमा आफूहरु रहेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँगको कुराकानीमा उहाँले राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमति गराउन कोशिस जारी राख्ने बताउनुभयो ।
सत्ता साझेदार दल र आफूले पनि राष्ट्रपतिमा सबै दलहरुबीच समझदारी बनाउने पहल गरिरहेको जनाउँदै उहाँले राष्ट्रपतिको निर्वाचन आउने दिनसम्म राष्ट्रिय सहमति हुने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपतिको निर्वाचन आउन अझै समय बाँकी छ ।
हामी सत्ता साझेदार र मैले पनि सकेसम्म कुनै एउटा समझदारी बन्दिए हुन्थ्यो भन्नेतिर कोशिस गरिरहेका छौँ, प्रधानमन्त्री दाहालले भन्नुभयो, हामी त्यो कोशिस जारी राख्नेछौँ ।
प्रतिनिधिसभाको सभामुखमा पनि सबै दलहरुबीच साझा समझदारी बनाउने प्रयास भए पनि अन्तिम समयमा सत्ता साझेदार दल र प्रमुख प्रतिपक्षी दलहरुबीच प्रतिस्पर्धा भएको थियो । प्रतिनिधिसभामा आज भएको मतदानमा नेकपा (एमाले)का देवराज घिमिरे निर्वाचित हुनुभएको छ ।
आज सभामुखको निर्वाचन भयो । सबै कुरा तपाईंहरुले थाहा पाइहाल्नुभयो । हामी सत्ता साझेदार सबै एकै ठाउँमा उभियौँ । अब प्रमुख प्रतिपक्षले पनि उम्मेदवार उठायो, प्रतिस्पर्धा भयो । बहुमतद्वारा घोषणा भयो ।
भोलि उपसभामुखको मनोनयन हुन्छ । पर्सी निर्वाचन हुन्छ । यही प्रक्रियाअनुसार नै निर्वाचन हुन्छ, उहाँले भन्नुभयो ।
राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्नेछौ“–प्रधानमन्त्री
Facebook Comments Box