सहारा दैनिक

spot_img
Homeसमाचारसैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानितः नेतृत्वविरुद्ध उक्साउने कार्य कदापि मान्य हुने छैन–प्रधानसेनापति

सैनिक विशेष अदालतका पूर्वपदाधिकारी सम्मानितः नेतृत्वविरुद्ध उक्साउने कार्य कदापि मान्य हुने छैन–प्रधानसेनापति

काठमाडौँ, २८ पुस (रासस)
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की र प्रधानसेनापति प्रभुराम शर्माले नेपाली सेना ‘प्राड विवाक जर्नल २०७९’ को संयुक्तरूपमा विमोचन गर्नुभएको छ ।
प्राड विवाकको ६०औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक मुख्यालयमा आयोजित कार्यक्रमा उहाँहरूले सैनिक विशेष अदालतका पूर्वअध्यक्ष, सदस्य र प्राड विवाकका अवकासप्राप्त रथीवृन्दलाई सम्मान गर्नुभयो । कानून र सैनिक न्याय प्रणालीका विविध पक्ष समेटिएको उक्त जर्नलमा सैनिक व्यक्ति संलग्न मुद्दामा सर्वाेच्च अदालतबाट भएका अन्तिम फैसला, सैनिक विशेष अदालतबाट फैसला तथा सुरु सैनिक अदालतबाट भएका केही महत्त्वपूर्ण निर्णय समावेश छन् ।
यसअघि न्याय निरुपण तथा फैसला लेखन, साइबर अपराधसम्बन्धी पछिल्ला गतिविधि तथा वैज्ञानिक अनुसन्धान विधि, सार्वजनिक खरिद एवं सूचना प्रविधिका विविध पक्षसँग सम्बन्धित रही प्राड विवाकद्वारा आयोजित तीन दिने गोष्ठीको प्रधानसेनापति शर्माले समापन गर्नुभयो ।
गोष्ठीबाट नेपाली सेनालाई आवश्यक पर्ने ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको मस्यौदा गर्ने तथा सोको कार्यान्वयनका लागि विभिन्न तहका सैनिक निकायलाई कानूनी राय सुझाव, सैनिक कसुरको अनुसन्धान तहकिकात तथा अभियोजन गर्न तथा सैनिक अदालतमा खटिई सैनिक न्याय सम्पादनमा सहयोग पुग्ने सेनाले अपेक्षा गरेको छ ।
सो अवसरमा प्रधानसेनापति शर्माले सेनासँग जोडिएका द्वन्द्वकालका घटनामा संस्थागत हित र सङ्क्रमणकालीन न्यायसम्बन्धी स्थापित मूल्य, मान्यतालाई मध्यनजर राखी तार्किक टुङ्गोमा पु¥याउने कार्यमा प्राड विवाकबाट प्रभावकारी भूमिकाको अपेक्षा गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “कानूनको गलत व्याख्या गरी सैनिक व्यक्तिलाई संस्था तथा नेतृत्व विरुद्ध उक्साउने कार्य कदापि मान्य हुने छैन । यसो गरेमा सैनिक ऐनको पालना गराउने विरुद्ध नै सैनिक ऐनको प्रयोग गर्न संस्था बाध्य हुनेछ ।”
प्राड विवाकका प्रमुख रत्नप्रकाश थापाले सेना अनुशासित, मर्यादित, राष्टू सेवामा समर्पित देशको प्रमुख पहरेदार र भरोसाको केन्द्रका रूपमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सैनिक सङ्गठनको मेरुदण्ड भनेकै अनुशासन हो । सैनिक सङ्गठनभित्र हुन सक्ने गैरकानूनी तथा अनुशासनहीन क्रियाकलापलाई नियन्त्रण गर्नु पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ, त्यसका लागि सैनिक सङ्गठनले निश्चित न्यायिक प्रणाली अवलम्बन गरेका हुन्छन ।”
उक्त विवाकले स्थापनाकालदेखि सैनिक न्याय प्रशासन, कानून विपरीतका कार्य गर्ने सैनिकलाई कानूनी दायरामा ल्याउने, रायसुझाव दिने, सेनाका विरुद्धमा गैरसैनिक अदालतमा दायर भएका मुद्दामा बहस पैरवी तथा प्रतिरक्षा गर्ने कार्य गर्दै आएको छ । विवाकले सैनिक कानूनको प्रारम्भिक मस्यौदा तयार गर्ने, सैनिक परिवारको विवादलाई मेलमिलाप र मध्यस्थतामार्फत समाधान गर्ने, सैनिक व्यक्तिलाई सैनिक कानून र मानवअधिकार तथा अन्तर्राष्टिूय मानवीय कानूनबारे ज्ञान दिलाउने काम गर्दैआएको छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -