सहारा दैनिक

spot_img
Homeसमाचारविद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ–अर्थमन्त्री शर्मा

विद्युत् खपत बढाउन सके आर्थिक विकास हुन्छ–अर्थमन्त्री शर्मा

काठमाडौँ, २२ मङ्सिर (रासस)
अर्थमन्त्री जनार्दन शर्माले ऊर्जाको खपत बढाउन सके आर्थिक विकास गर्न सकिने बताउनुभएको छ ।
आज यहाँ आयोजित फिन इलेक्ट्रो टेक–२०२२ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री शर्माले मुलुकभित्रै विद्युत्को खपत बढाउनुपर्ने र यसले व्यापार घाटा कम गर्न समेत सहयोग गर्ने बताउनुभयो । उहाँले विद्युत्को क्षेत्रमा भएको लगानीको प्रतिफल लिने समय आएको समेत बताउनुभयो ।
उहाँले पछिल्लो समय कोरोना महामारी र रसिया–युक्रेन युद्धका असरका कारण लगानीमाथिको गुणात्मक प्रतिफल पाउन नसकिएको बताउनुभयो । उहाँले विद्युत् बिक्री गर्नेभन्दा पनि खपतमा जोड दिनुपर्नेमा जोड दिनुभयो ।
विद्युत् बेच्नु पर्दैन अब विद्युत् बेच्ने जमाना गए, स्वदेशमै विद्युत्को खपत बढाउनुपर्छ, उहाँले भन्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिनमा विद्युत् खपत बढ्दै जाँदा विद्युत्सम्बन्धी सामग्रीको बजार पनि बढ्ने बताउनुभयो । भोलिका दिनमा १५ हजार मेगावाट विद्युत् खपत गर्न सकियो भने विद्युतीय सामग्रीसम्बन्धित बजारको पनि सुनिश्चितता हुने उहाँको भनाइ छ ।
बर्खायाममा विद्युत् निर्यात हुनु हाम्रो सफलता होइन, विद्युत् खपतबाटै समृद्धि हुन्छ । तर खपत नभएको विद्युत् खेर फाल्नुभन्दा निर्यात गर्नुपर्छ, उहाँले भन्नुभयो ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले विद्युत् उत्पादन गर्ने कम्पनीहरूले यस क्षेत्रमा गरेको अर्बौ लगानी बचाउन सरकारसँग आग्रह गर्नुभयो । पूर्वाधारको अभावमा विद्युत् प्रयोग गर्न सकिएको छैन । अर्बौँ लगानीका आयोजनाको पिपिए हुनसकेको छैन, उहाँले भन्नुभयो ।
‘नेपालको समृद्धि, ऊर्जा खपत अभिवृद्धि’ नारासहित फिन इलेक्ट्रो टेक २०२२ प्रदर्शनी आजदेखि सुरु भएको हो । प्रदर्शनी मङ्सिर २५ गतेसम्म चल्नेछ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -