वीरगंज, ०९ मंसिर ।
उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय, पर्सा र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त तत्वावधानमा ८ औं उद्योग दिवस मनाइएको छ ।
८ औं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय र वीरगंज उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा “औद्योगिक लगानी र पूर्वाधार ः समृद्धिको बलियो आधार” नारा सहित उद्योग दिवस सम्बन्धमा अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि पर्साका प्रजिअ उमेशकुमार ढकालले संघको झण्डा झण्डोत्तोलन गर्दै ७९ वर्षको लामो, गौरवशाली एवम् ऐतिहासिक पृष्ठभूमि बोकेको संघले आफ्नो झण्डा अनवरण गरेको कार्य अत्यन्तै प्रशंसनीय रहेको बताउनु भयो ।
उहाले उद्योगहरु स्थापनाका लागि औद्योगिक वातावरण निर्माण गरिने, औद्योगिक शान्ति सुरक्षाको व्यवस्था मिलाइने, उद्योग सम्बन्धी नीतिगत समस्याहरुमा सुधारको लागि पहल गरिने सो अवसरमा प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख उद्योग अधिकृत धनन्जय कुमार सिंहले घरेलु तथा साना उद्योग सम्बन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
अन्तरकृया कार्यक्रममा उद्योगी हरी गौतमले सरकारी नीति नियमहरु अस्थिर नरहेकाले उद्योगहरु फस्टाउन नसकेको बताउदै दीर्घकालीन नीति नियमको तर्जुमा हुनु पर्नेमा जोड दिनुभयो । उहाले कोभिड १९ को प्रभावबाट विस्तारै लयमा फर्किदै गइरहेको उद्योगहरुलाई नेपाल राष्ट्र बैंकद्वारा जारी नीति, निर्देशन, परिपत्रका कारण उद्योगहरु धरासायी हुने अवस्थामा पुगेको बताउनुभयो ।
वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले उद्योगहरुको स्थापनाको लागि चाहिने सामाजिक संस्कारको विकास हुन नसकेको बताउनु भयो । उहाले स्वदेशी लगानीमा सञ्चालित उद्योगहरुको संरक्षण नभइञ्जेल अर्थात् उनीहरुको लगानी संरक्षण हुने सुनिश्चितता नभइञ्जेल विदेशी लगानी भित्रिन नसक्ने बताउनु भयो ।
अन्तरकृयामा सहभागी वक्ताहरुले अपेक्षित संख्यामा उद्योगहरु स्थापनाहरु नहुनुका पछाडि उद्योग सम्बन्धी प्रष्ट नीतिको अभाव, अस्थिर मौद्रिक नीति, उद्योग मैत्री श्रम नीतिको अभाव, उद्योग स्थापनाको लागि नियामक निकायले अनुमति पत्र बाँड्ने काम मात्र नगरी उद्योगहरु दीर्घकालसम्म सञ्चालनको लागि सर्वेक्षण समेत गर्नुपर्ने, उद्योग स्थापनाको लागि अन्तरसरकारी निकायहरुमा समन्वयको अभाव औल्याएका छन ।
उद्योग विभागका महानिर्देशक सुशीलकुमार साहले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रममा पर्साका प्रहरी उपरीक्षक रमेश बस्नेत, वीउवासंघका उपाध्यक्ष माधव राजपाल, वीउवासंघका महासचिव मनोजकुमार दास, विभिन्न सरकारी कार्यालयका प्रमुखहरु सहित उद्योगीहरुको उपस्थिति रहेको थियो ।
Facebook Comments Box