spot_img
Homeदेशमधेशभ्रष्टाचारीलाई बोकेर चौरसियाको चुनावी अभियान

भ्रष्टाचारीलाई बोकेर चौरसियाको चुनावी अभियान

वीरगंज, २७ कार्तिक ।
आसन्न प्रदेश–प्रतिनिधिसभा निर्वाचनमा जित हासिल गर्न उम्मेदवारहरुले विभिन्न हथकण्डा र उपायहरु अपनाएर जनतालाई रिझाउन लागि परेको समयमा पर्सा क्षेत्र नं.२ का प्रतिनिधिसभा उम्मेदवार अजय चौरसिया भने भ्रष्टाचार आरोपी कञ्चन झालाई बोकेर चुनाव जित्ने अभियान सहित चुनावी मैदानमा उत्रिएका छन् ।
सानो पाइला नामक गैर राजनीतिक संस्थालाई कञ्चन झाले कांग्रेसको भातृ संगठनको रुपमा प्रयोग गर्दै आइरहेको आरोप पनि बेलाबखतमा लाग्ने गरेको छ ।
अध्यक्ष झाले हुकुमी शैलीमा संस्थाका कर्मचारी सदस्यहरुलाई आफ्नो व्यक्तिगत कार्यक्रम, पार्टीको घरदैलो, ब्यानर डिजाइन देखि कुर्सी टेन्ट इत्यादि व्यवस्थापनदेखि ओसारपसारमा प्रयोग गर्ने गरेको पनि आरोप लाग्न थालेको छ । विरोध गर्दा कामबाट निकालिने डरले कुनै पनि कर्मचारीबाट खुलेर विरोध नहुने गरेको बताइन्छ ।
लागु औषध दूर्वयसन नियन्त्रणकालागि काम गर्ने भनेर स्थापित सानो पाइलामा वार्षिक झण्डै करोड भन्दा बढी देशी÷विदेशी अनुदान लिएर कागज मिलान गरी ती रकमहरुमाथि भ्रष्टाचार गर्दै आएका सानो पाइलाका संस्थापक अध्यक्ष झाले केही समय अघि सोही प्रवृत्तिका भ्रष्टाचार गरेको चर्चाहरु निकै उत्कर्षमा पुगेको थियो ।
वीरगंज महानगरपालिका वडा नं.२ छपकैया स्थित सानोपाईलामा ठूलो भ्रष्टाचार भएको सानो पाईला कै पूर्व बजार व्यवस्थापक अजितम पाण्डेले प्रमाण सहित सार्वजनिक गरेपछि निकै खैलाबैला मच्चिएको थियो ।
उक्त संस्थाद्वारा सञ्चालित एउटा कार्यक्रमका पूर्व व्यवस्थापक समेत रहेका अजितम पाण्डेयले मुद्दा दर्ता गराएका थिए । उनले संस्थाले करिब दुई दर्जन शीर्षकमा आठ करोडभन्दा बढी रकम हिनामिना गरेको प्रमाणहरु संकलन गरी विभिन्न निकायमा गरेका थिए । जनकपुरमा भवन निर्माण गर्ने क्रममा १४ लाखको निर्माण सामग्री लगायत खर्च रसिदहरू आफूसंग सुरक्षित रहेको अवस्थामा फर्जी बिलभर्पाइको लेखापरीक्षण गर्न लगाएर झाले भ्रष्टाचार गरेर संस्थाको रकम दुरुपयोग गरेका थिए । सानो पाइलाका प्रमुख कार्यकारी अधिकृत झाको मनोमानी र अनियमितताको विरोध गर्दा आफूलाई झूटो आरोपमा फसाउनेजस्ता कार्य भएकाले त्यस्तो प्रवृत्तिविरुद्ध मुद्दामा जानुपरेको पाण्डेले उतिबेलै बताएका थिए ।
झाले लाखौं रकम हिनामिना गरेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडामा २०७६ मंसिर ४ गते उजुरी परेको थियो । संस्थाको रकम व्यक्तिगत प्रयोजनको लागि व्याजमा लगाउने, राजनीतिक गतिविधिहरुमा लगाउने जस्ता काम पनि गर्दै आएको बताइन्छ ।
यतिबेला उनै कञ्चन झा सानोपाइलामा कार्यरत कर्मचारीहरुलाई पार्टीको कार्यकर्ताहरु सरह गोरु जोतेझैं काम लगाउने गरेका दृश्यहरु जोकोहीले देख्ने गरेका छन् ।
सानो पाइला स्थापना भएदेखिको रेकर्ड हेर्ने हो भने पर्सा जिल्ला लगायत देशभर लागु औषध दूर्व्यसनी, कारोबारी र ओसारपसारको घटनामा तुलनात्मक गिरावट नआएको तर संस्थाका झा भने देश विदेशबाट आउने फण्डहरुबाट भने अकूत सम्पत्ति जोड्न सफल भएका छन् ।
आफूले गरेको अनियमितता र भ्रष्टाचारबाट जोगिन राजनीतिक आवरणमा नेताहरुसंग नजिक रहने र प्रहरी प्रशासनलाई खेलाउदै आएको चर्चा व्याप्त छ ।

Facebook Comments Box
- Advertisment -
सम्बन्धित खबर
- Advertisment -

ताजा अपडेटस

- Advertisment -