वीरगंज, १५ कार्तिक ।
भारत सरकारले धानको निर्यातमा लगाएको २० प्रतिशतको भंसार शुल्क नेपालको लागि पुनः शुन्य प्रतिशत कायम गरेको छ ।
भारत सरकारको अर्थ मन्त्रालय (राजस्व विभाग) ले कार्तिक १४ गते नोटिफिकेशन जारी गर्दै नेपालको लागि धान निर्यातमा पुनः शुन्य प्रतिशत कायम गरेको हो ।
भारत सरकारले गत भदौ २३ गते नोटिफिकेशन जारी गरी नेपालको लागि समेत धानको निर्यातमा २० प्रतिशत भंसार शुल्क कायम गरेको थियो ।
भारत सरकारले उक्त नोटिफिकेशन जारी गरे देखि नै वीरगंज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारतका सम्बद्ध निकायहरुमा नेपालको लागि धान निर्यातमा लगाएको २० प्रतिशत भंसार शुल्क पुनः शुन्यमा झार्न पहल गर्दै आएको थियो ।
वीरगंज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य डा. सुबोधकुमार गुप्ताले भारतले धानको निर्यातमा २० प्रतिशत भंसार शुल्क लगाए पछि नेपाली चामल उद्योगहरु बन्द हुने संघारमा पुगेको थियो र नेपाली आम उपभोक्ताहरु महंगो चामल उपभोग गर्न बाध्य हुनु परेको बताउनु भयो ।
भारतले धानको निर्यातमा लगाएको भंसार शुल्ककै कारण नेपाल–भारत बीचको सम्बन्धमा तितोपना ल्याएको उहाले बताउनु भयो ।
वीरगंज उद्योग वाणिज्य संघ र नेपाल चामल, दाल, तेल संघले नेपाल तथा भारत सरकारको सम्बद्ध निकाय समक्ष निरन्तर पत्राचार र प्रत्यक्ष भेटघाट गरी विद्यमान समस्या राख्दै आएको परिणामस्वरुप भारत सरकारबाट अन्य मुलुकहरुको लागि उक्त प्रतिबन्ध कायम राख्र्दै नेपालको लागि मात्र धानको निर्यातमा पुनः शुन्य भंसार शुल्क कायम गरिएकोले नेपाल–भारत बीचको युगौंयुगदेखिको सम्बन्ध अझ नयाँ उचाई छुने डा. गुप्ताले बताउनु भयो ।
उहाले गत वर्ष नेपालले भारतबाट साढे ५ लाख मे.टन धान आयात गरेको तथ्यांकको आधारमा यस वर्ष ६ लाख मे.टन आयात गर्न पाउने अनुमति पाएकाले नेपालका चामल उद्योगहरुको विकास, विस्तार र प्रबद्र्धन हुने र नयाँ चामल उद्योगहरु स्थापना हुनुको साथै आम उपभोक्ताहरु समेत सस्तो मूल्यमा गुणस्तरीय चामल प्राप्त गर्न पाउने बताउनु भयो ।
Facebook Comments Box
सम्बन्धित खबर