धनुषा, २५ भदौ (रासस)
जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्य रहेको बताउनुभएको छ ।
जनकपुरधाममा आज आयोजित पिछडा वर्ग महासंघको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुहुँदै उहाँले संघीयता र गणतन्त्र सङ्कटमा परेका बेला जसपाकै नेतृत्वमा गठबन्धन निर्माण भएको स्मरण गराउनुभयो ।
अध्यक्ष यादवले आफूहरु गठबन्धनको पक्षमै रहेको भए पनि संघीयता र गणतन्त्रका लागि ऐतिहासिक भूमिका निर्वाह गरेको जसपाको सिट बाँडफाँटमा सम्मानजनक तालमेल हुनुपर्नेमा जोड दिनुभयो । उहाँले गठबन्धन अपरिहार्य रहे पनि मधेसी, दलित, आदिवासी जनजातिको प्रतिनिधित्वमा ह्रास आउने गरी गठबन्धनको नाममा आँखा चिम्लेर कुनै आत्मघाती कदम चाल्न तयार नरहेको स्पष्ट पार्नुभयो ।
मधेसको शक्तिलाई कमजोर आँकलन नगर्न आग्रह गर्दै अध्यक्ष यादवले मधेसको शक्तिले सम्मानजनक स्थान पाएमात्र गठबन्धन बलियो हुने धारणासमेत राख्नुभयो । उहाँले सामाजिक विकृतिका रुपमा रहेका पिछडावर्ग माथिको अन्याय अन्तका लागि संवैधानिकरुपमै पहल गर्नुपर्ने उल्लेख गर्नुहुँदै दलित र पिछडा वर्गको उन्नतिविना देशको समृद्धि कल्पनासमेत गर्न नसकिने बताउनुभयो ।
कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले समाजको ठूलो हिस्सा रहेको पिछडा वर्गको उत्थानका लागि प्रदेश सरकार तत्पर रहेको उल्लेख गर्नुहुँदै उनीहरुको सामाजिक उत्थानका लागि प्रदेश सरकारले बजेट विनियोजनसमेत गरेको बताउनुभयो । उहाँले पिछडा वर्गको सूचीकरणलगायत कामका लागि छुट्टै समिति बनाउनु आवश्यक रहेको उल्लेख गर्नुहुँदै ऐन बनाउन नसकिए पनि अध्यादेशबाटै समिति बनाउने प्रक्रियामा रहेको बताउनुभयो ।
पिछडा वर्ग महासंघका अध्यक्ष भरत महतोको अध्यक्षतामा भएको उक्त उद्घाटन सत्रमा प्रदेशसभा सदस्य रामअशिष यादव, जसपा नेता बलराम महतोलगायतले सम्बोधन गर्नुभएको थियो ।
लोकतन्त्र र संघीयताको रक्षाका लागि गठबन्धन अपरिहार्यः गठबन्धनको नाममा आ“खा चिम्लेर आत्मघाती कदम चाल्न तयार छैनौ–अध्यक्ष यादव
Facebook Comments Box