
मधेसखबर
वीरगन्ज,२६ असार : मुस्लिम धर्मावलम्बीको दोस्रो महान पर्व बकर ईद (इदुल जोहा) आइतबार देशभर मनाइँदै छ ।
मुस्लिम धर्मावलम्बीले इदुल फित्र अर्थात् रमजान पर्वको ७० औँ दिनमा बकर ईद मनाउने गर्छन् ।
मुस्लिम धर्मावलम्बीले आजका दिन बिहानै स्नान गरी नजिकैको मस्जिद वा ईदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । वीरगन्ज र यस आसपासका मुस्लिम बाहुल्य क्षेत्रमा पनि आइतबार बकर इद पर्बको चहल पहल देखिको छ । वीरगन्जको छपकैया , इनर्वा , लाठगल्ली , मुर्ली , श्रीपुर ,पिपरा लगायतका टोलहरुमा बिहानै देखि बकर ईद पर्वको रौनक छ ।
बकर इर्द पर्वका अवसरमा मक्का मदिना जानु शुभ मानिन्छ ।मक्का मदिना जान गृह मन्त्रालयले आतेजाते विमान टिकटको व्यवस्था गरी हज यात्रा गराउने गरेको छ । मक्का मदिना जान नपाउने हजयात्रीले समेत घर घरमै बकर ईद मनाउँछन् । यो पर्वको मुख्य उद्देश्य नै हज यात्रा हो ।
यस पर्वमा अल्लाहलाई खुसी पार्न मुस्लिम धर्मवालम्बीले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन् । बकर ईद (ईद उल अजहा) को अवसरमा आइतबार सरकारले सार्वजनिक बिदा दिएको छ ।